Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २८ कात्तिक । सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध नालिस दिएको छ । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा सीएनएनले मुद्दा दायर गरेको हो ।

ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएनले अदालतको ढोका ढक्ढकाएको हो ।

राष्ट्रपति ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा एकोस्टाले कडा प्रश्न गरेपछि गत बुधबार तनाव भएको थियो । ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारीले एकोस्टाले प्रश्न गरिरहेकै बेला उनको माइक्रोफोन नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् । तर, एकोस्टाले ती महिलालाई रोके र थप प्रश्नहरु ट्रम्पमाथि बर्साए ।

यो घटनाको भिडियो भाइरल भएपछि ह्वाइटहाउसको चर्को आलोचना भए पनि उसले एकोस्टाको परिचयपत्र नै जफत गर्ने अलोकप्रिय कदम चालेको थियो ।

तर, सीएनएन ट्रम्प र उनको प्रशासनले आफ्ना पत्रकारको संवैधानिक अधिकार खोसेको भन्दै अदालत गएपछि घटनाले रोचक मोड लिएको छ ।

दायर मुद्दामा ट्रम्प र उनका सहयोगीलाई विपक्षी बनाइएको छ ।

तपाईको प्रतिक्रिया