Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

प्रदिप धमला
गौरादह, ९ चैत २०७८ । राज्य वा सरकारले नागरिक वा ग्राहकका लागि उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा प्रवाह भनिन्छ । राज्यको उत्पत्ति पनि आफ्ना जनतालाई सेवा उपलब्ध गराउने प्रयोजनकै लागि भएको देखिन्छ ।

कुनै पनि देशको सरकारले त्यस देशका जनतालाई टेलिफोन, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, हुलाक, यातायात सुरक्षा जस्ता सेवा उपलब्ध गराउनु पर्दछ । सरकारले जनतामा पुर्‍याउने सेवालाई नै सार्वजनिक सेवा भनिन्छ । सरकारले जनताको जन्म देखि मृत्यु पर्यन्त सम्म पुर्‍याउनु पर्ने सेवा सरल तरिकाले, कम मुल्यमा, छिटो छरितो माध्यमबाट जनताले चाहेको स्थान र समयमा पुर्‍याउनु पर्दछ । यसैलाई नै सार्वजनिक सेवा मानिन्छ । सरकारका लक्षित समूह भनेको स्थानिय जनताहरु हुन् ।

सरकारले प्रशासनिक संरचना मार्फत सार्वजनिक सेवा जनतामा पुर्‍याउँछ । जनतामा सरकारको बारेमा राम्रो नराम्रो धारणा उसले प्राप्त गर्ने सेवाको आधारमा नै बन्दछ । जनताले तत्काल तथा विना हैरानी सेवा पाएमा सरकार प्रति राम्रो धारणा बनाउँछन् भने नराम्रो सेवा तथा अनावश्यक हैरानी पाएमा नकरात्मक धारणा बनाउँदछन् । त्यसकारण पनि जनता र सरकारलाई जोड्ने कडीको रुपमा पनि सार्वजनिक सेवा प्रवाहलाई लिन सकिन्छ । राज्यले राष्ट्र र जनताको लागि गर्ने नियमित, आकस्मिक तथा विकासत्मक कार्यहरुको समष्टि रुपलाई पनि सार्वजनिक सेवा प्रवाहको रुपमा लिने गरिन्छ ।

जनतालाई मालिक मानेर तिनको छनोटको अधिकारको सुनिश्चितताका लागि राज्यले उपलब्ध गराउने वस्तु तथा सेवाहरु यसमा पर्दछन् । परम्परागत रुपमा जनतालाई सुरक्षा दिने र कर उठाउने कार्यलाई सार्वजनिक सेवा प्रवाह ठानिन्थ्यो । हाल सार्वजनिक हित र लोक कल्याणको लागि राज्यले आफै वा अन्य क्षेत्रसँग मिलेर उपलब्ध गराउने सम्पूर्ण वस्तु तथा सेवाहरु यसमा पर्दछन् । नागरिकले मतदान वा करबाट दिएका अधिकार र श्रोतको प्रयोग गरी राज्यले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नागरिकको हित र समृद्धिको लागि उपलब्ध गराउने वस्नु तथा सेवा नै सार्वजनिक सेवा हो । जनताको गर्भ देखि चिहान सम्मका आवश्यकता व्यवस्थापन गर्ने कार्य पनि सार्वजनिक सेवा प्रवाह हो । राज्यको हित संरक्षण र संवद्र्धन गर्ने कार्यलाई समेत सार्वनिक सेवा प्रवाह भनिन्छ । सार्वजनिक सेवा प्रवाहको मुलतः नियमित कार्य गर्ने जस्तै खानेपानी, सरसफाई, वसोवास खानपिनको व्यवस्थाहरुमा तथा आकस्मिक कार्य दमकल, एम्बुलेन्स, उद्धार, राहत तथा विकासत्मक कार्य योजना, विकास निर्माण आदिलाई समेत सार्वजनिक सेवा प्रवाहले समेटेको हुन्छ ।

सार्वजनिक सेवा नागरिकको अधिकार र राज्यको दायित्व हो । जनतालाई र राज्यलाई जोड्ने तथा आर्जन गर्ने माध्यम पनि यहि हो । सार्वजनिक सेवा सरकार आफैले वा निजी र सामाजिक संगठन सँग मिलेर प्रदान गर्दछ । यसमा वस्तु तथा सेवा मात्र नभई राज्यको शासकीय मुल्य एवं लाभहरुको वितरण समेत समेटिएको हुन्छ । जनतालाई राज्यबाट प्राप्त हुने जुनसुकै सेवा पनि निष्पक्ष तथा भरपर्दो हुनु पर्दछ । राज्यका तर्फबाट पाउने सेवा सुविधा हामी सेवा प्रवाहको माध्यमबाट प्राप्त गर्ने गर्दछौं । सार्वजनिक सेवा प्रवाहको आवश्यकता तथा महत्व एकदमै धेरै रहेको छ । राज्यको तर्फबाट जनतालाई सेवा प्रवाह गर्नु होस वा जनताले राज्यको तर्फबाट सेवा लिनु होस यसको आवश्यकता तथा महत्व अत्यन्तै धेरै रहेको छ । जसबाट नागरिकका हक तथा अधिकारको कार्यान्वयन गर्न सकिन्छ । जनताप्रति राज्यको दायित्व वा अभिभारालाई पनि पुरा गर्न सकिन्छ । हाम्रो देश राज्य र हामी यस देशका जनता विच असल सम्बन्ध कायम राख्न पनि यसको भुमिका हुन्छ । भौतिक, वित्तीय, प्राविधिक, सामाजिक तथा मानविय विकास हासिल गर्न सहज हुन्छ ।

राज्यका तर्फबाट प्रवाह गरिने सेवाबाट आफ्ना देशका नागरिकहरुलाई सन्तुष्टि कायम गर्न सकिन्छ । राज्यका सार्वजनिक सेवा प्रवाहको माध्यमबाट समाजमा शान्ति,व्यवस्था र अमनचयन समेत कायम गर्न सकिन्छ । मानव अधिकारको संरक्षण र संवद्र्धन गर्दै राज्यको वैधानिकता जोगाई राख्न सजिलो हुन्छ । राज्यमा विद्रोह र अशान्ति कम गर्न, आधारभूत आवश्यकता परिपूर्ति गर्न पनि सार्वजनिक सेवा प्रवाहले ठुलो भुमिका खेलेको हुन्छ । राज्यले आफ्नो उपस्थिति शिद्ध गर्दै जनताको दैनिक जनजीवन सूचारु र गतिशिल बनाई लोक कल्याणकारी राज्य स्थापना गर्न समेत सार्वजनिक सेवा प्रवाहले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । सार्वजनिक सेवा प्रवाहको माध्यमबाट तोकिएको समयमा सेवाग्राहीले सेवा प्राप्त गर्न सक्दछन् । सेवा प्रवाहले जनतालाई सन्तुष्ट बनाई राख्न सक्दछ । सेवा प्रदानमा राज्यको जिम्मेवारी तथा दायित्व पूरा गर्न सक्ने किसिमको कार्यकुशलता बढ्ने अपेक्षा समेत गरिन्छ । नेपाल लगायत विश्वका सम्पूर्ण देशहरुमा सार्वजनिक सेवा प्रवाहलाई अवलम्बन गरिएको छ । राज्यको सेवा प्रवाह चुस्त दुरुस्त बनाउन सकेमा मात्र त्यस देशको सार्वजनिक प्रशासन सबल तथा सक्षम भएको मानिन्छ । सार्वजनिक सेवाहरु सरकारी माध्यमद्वारा, गैर सरकारी माध्यमद्वारा, निजी क्षेत्र मार्फत, नागरिक समाज मार्फत, करार वा सम्झौता मार्फत तथा सार्वजनिक निजी साझेदारी मार्फत सेवा प्रवाह गर्न सकिन्छ । सेवा प्रदायकले सेवा प्रवाह गर्दा जनतालाई सुशासनको अनुभूति गराई त्यसलाई प्रत्याभुति गराउनु पर्दछ ।

सेवा प्रवाह गर्ने व्यक्तिले जनताको अभिरुची तथा दृष्टिकोणलाई बुझेर सेवा प्रवाह गर्न सकेमा यसको अझ बढि प्रभावकारीता देखिन्छ । सेवा प्रवाह गर्ने क्रममा नया नया प्रविधिको प्रयोग गरेर आफ्नो कार्य सम्पादनलाई छिटो तथा छरितो बनाउनु पर्दछ । परम्परागत पुरातन संस्कार तथा कार्यविधिको स्थानमा नया नया सीप र संस्कारको अनुशरण गर्दै अगाडी बढ्नु आजको प्रमुख दायित्व हो । सेवा प्रवाहको क्रममा सेवा ग्राहीसँगको समन्वयलाई पनि स्थापित गर्नु आवश्यकता हुन्छ । जनतामा सेवा प्रवाह गर्ने क्रममा निष्पक्षता अपनाई नातावाद, कृपावाद तथा राजनीतिक पुर्वाग्रहबाट मुक्त भएर जनतामा सेवा प्रवाह गर्नु अपरिहार्य शर्त हो । जनताले तिरेको करबाट तलब, भत्ता खाने र चिप्ला गाडि चढ्नेले तिनै जनताबाट श्रीमान, माननीय, सम्माननिय भनिने दृष्टिकोणबाट मुक्त हुनु पर्दछ । सेवा प्रवाह गर्ने सम्पूर्ण राज्यका संयत्र आफुमा दक्ष तथा ईमान्दार हुनु पर्दछ । सेवा प्रवाहमा आईपर्ने कामको दोहोरो पन हटाउने र जटिल निर्णय प्रकृयालाई सरलीकरण गर्दै आफ्नो कामलाई छिटो छिटो अगाडि बढाउनु पर्दछ । उचित सेवा प्रवाह भनेकोनै विधिको शासन हो । राज्य सञ्चालनको स्थायी संयत्रले सेवा प्रवाहको माध्यमबाट जनतामा उचित सेवा पुर्‍याउन सक्दछ । नेपालको संविधान तथा अन्य ऐन र नियमावलीले व्यवस्था गरे बमोजिम सार्वजनिक सेवा प्रवाहको मुल्य मान्यतालाई आत्मसात गर्दै अगाडी बढ्न सक्नु आजको आवश्यकता बनेको छ ।

हाल नेपालमा तिन तहका सरकार रहेका छन् । देशमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापित भएको छ । जनताले सेवा लिन जिल्ला सदरमुकाम जानु पर्ने हैरानी हटेर गएको छ । आफ्नै स्थानीय ठाउँमा हाम्रो आफ्नो स्थानीय सरकार रहेको छ । ति तिनै तहका सरकारले आफ्नो सेवा प्रवाहको माध्यमबाट जनतालाई खुसी बनाउन सक्दछन् भने जनतालाई पनि आफ्नै गाउँ ठाउँमा सरकार आएको अनुभूति हुनेछ । सेवा प्रवाह एउटा यस्तो कडी हो जो सरकारको उपलब्धि गराउन सक्दछ । निती निर्माण भएपछि त्यसको सहि कार्यान्वयन गर्न सेवा प्रवाह नै अपरिहार्य हो । जनता आश्वासन भन्दा पनि काम हेर्न चाहन्छन् । जनतालाई तोकिएको समयभित्र छिटो छरितो गरी सेवा प्रवाह गर्न सकेका सम्पूर्ण देश तथा कर्मचारीको पनि सबल पक्ष झल्किन सक्छ । विगत केही समय देखी नेपालमा भ्रष्टाचारको संख्या बढ्दै गएको विभिन्न माध्यमबाट सुन्ने गरीएको छ । यसबाट सेवा प्रवाहमा खलल पर्न सक्दछ । सेवा प्रवाहको नाममा भ्रष्टाचार मौलाउँदा विधिको शासन हराउदै जान्छ भने अर्को तर्फ नागरिक जनता प्रति पनि राज्यको सेवा प्रवाह तथा संयन्त्रमा प्रश्नचिन्ह देखा पर्दछ ।

केन्द्रिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले आफु मार्फत तथा कर्मचारी मार्फत जनतामा सेवा प्रवाह गर्दा मुस्कान सहितको कुनै लोप तथा आश नगरि आफ्नो सेवा प्रवाह गरेर जनताको मन जित्नु पर्दछ । सेवा प्रवाहले राज्यका निती तथा कार्यक्रमका आधारमा गर्ने हुनाले यसबाट पछि नहटिकन सम्पूर्ण सेवा प्रवाह गर्ने निकायले यसमा विचार गरेर निश्वार्थ पुर्वक काम गरी सरकारले लिएको निती तथा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउदै जानु पर्दछ । सेवा प्रवाह चुस्त तथा दुरुस्त हुँदा मात्र सरकारको प्रगति हुन्छ भने जनतामा पनि सेवा प्रवाहको सकरात्मक प्रभाव पर्दछ । सेवा प्रवाह गर्दा सेवाग्राहि सँगको बोलिबचन तथा व्यवहारको ठुलो भुमिका खेलेको हुन्छ । काम मात्र छिटो गरेर हुँदैन जनतामा नम्र भएर बोल्ने तथा उचित व्यवहार गर्ने पनि गर्नु पर्दछ । कर्मचारीलाई सेवा ग्राहिले नमस्कार गर्ने नभएर कर्मचारीले चै सेवा ग्राहिलाई नमस्कार भन्ने तरिका व्यवहारमा ल्याउन सक्नु पर्दछ । सेवा प्रवाहको क्रममा समयमा कार्यालयमा प्रवेश गरेर कार्यालय समयसम्म बसेर सेवाग्राहिको समस्याको हल गर्नु नै सेवा प्रवाह हो । सेवा प्रवाह गर्नमा सवै कर्मचारीहरुको उत्तिकै महत्व रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाहमा जनताको विश्वास जित्नुलाई ठुलो कुरा मानिन्छ । जसबाट सरकारको प्रतिनिधित्व झल्कन सक्दछ । सरकारलाई नजिकबाट विश्वास गर्ने भनेको नै कार्यालयमा हुने सेवा प्रवाहको माध्यमबाट हो ।

आज विश्वमा विकासको गतिमा अगाडि बढिरहेको तथा विश्वमा सबैभन्दा धनि हुन सफल चिनमा सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त भएको अवस्था छ । त्यहा जनतालाई धेरै हैरानि नदिई छिटो तथा छरितो रुपमा सेवा प्रवाह गर्ने गरेको पाईन्छ । यि सम्पूर्ण कारणले आज चिन विश्वमा धनि बन्न सफल भएको मात्रै छैन सम्पूर्ण चिनिया नागरिकको विश्वास पनि जित्न सफल भएको छ । नेपालको सार्वजनिक सेवा प्रवाहलाई पनि चुस्त दुरुस्त बनाउदै जनताको मन जिन्ने क्रममा अगाडि बढ्नु पर्दछ । नातावाद तथा कृपावादलाई छोडेर निष्पक्ष रुपमा सेवा प्रवाह गर्ने पक्षमा सवै क्षेत्रबाट उत्तिकै लाग्न सकेमा मात्र नेपाल सरकारले निजामती सेवामा लिएको नारा व्यवसायिक र सिर्जनशिल प्रशासन विकास समृद्धि सुशासनको सहि प्रतिफल प्राप्त गर्न सकिन्छ । सरकारको नीति तथा कार्यक्रमले पनि सार्थकता पाउँछ । सरकारको काम कारवाही प्रभावकारी बन्न सक्दछ ।

तपाईको प्रतिक्रिया