गौरादह, ४ चैत २०७८ । गौरादह जेसीजले होली पर्वको अवसरमा होली मिलन तथा नव वर्ष २०७९ सालको क्यालेण्डर विमोचन गरि शुभकामना आदान प्रदान गरेको छ । गौरादह बजारमा शुक्रबार(आज) आयोजित कार्यक्रममा, कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि कार्की तथा गौरादह जेसीज २०२२ कि अध्यक्ष विनिता कट्वालले संयुक्त रुपमा क्यालेण्डर विमोचन गरेका हुन् ।
शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि कार्कीले होली पर्व असत्य माथि सत्यको विजयको प्रतिक भएकोले शान्ति र सद्भाव फैलाउने उमंगको होली पर्वले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै, गौरादहमा अहिले युवा युवतीहरु लागुपदार्थ, र्दुव्यसनी जस्तो खराब क्रियाकलापमा लाग्दै रहेकोले त्यस तर्फ सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै, कार्यक्रममा गौरादह नगरपालिका का नगर प्रमुख रोहित कुमार शाहले सबै सँग भाइचाराको व्यवहार गरेर विकृति र बिसंगती हटाएर आफ्नो परम्परालाई मर्यादित ढंगबाट मनाउन सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा एकिकृत माओवादी केन्द्र नगर कमिटी अध्यक्ष डण्डी राज घिमिरे, नेकपा एमाले नगर कमिटी अध्यक्ष मित्रदेव काफ्ले, जेसीजका पूर्व अध्यक्ष तथा गौरादह-१ का वडा सदस्य कोमल ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसअवसरमा गौरादह कृषि क्याम्पसका विद्यार्थीहरु र निलम चौधरीले सांगीतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा जेसीज २०२२ कि अध्यक्ष कट्वालले अतिथि तथा सांगितिक नृत्य प्रस्तुत गर्नेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । सो अवसरमा सहभागी सम्पूर्णलाई नयाँ वर्षको क्यालेण्डर समेत बाँडीएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुले सामूहिक रुपमा रंग दल्दै एक आपसमा शुभकामना साटा साट गरेका थिए । विभिन्न संघ संस्थाका व्यक्तिहरु, सुरक्षाकर्मी, गौरादह जेसीजका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रममा जेसीज २०२२ का महासचिव खड्ग थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।