Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ४ फागुन २०७८ । भारतीय संगीत क्षेत्रका चर्चित एवं लोकप्रिय संगीतकार तथा गायक बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भयो । मंगलबार राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा पुर्याइएका उनको बुधबार विहान निधन भयो ।

करिब ५ सयभन्दा बढी गीतको रचना गरेका लहरी संसारभर ‘बप्पी दा’का नामले प्रख्यात छन् । उनलार्ई धेरै दर्शकले सुनका गहना धेरै लगाउने गायकका रूपमा समेत चिन्छन् । सन् १९५२ नोभेम्बर २७ मा भारतको जलपाइगुडीमा जन्मिएका उनको वास्तविक नाम आलोकेश लहरी हो ।

लहरी एक भारतिय गायक, संगीतकार, राजनीतिज्ञ र रेकर्ड निर्माता थिए । उनले भारतिय सिनेमामा डिस्को संगीतलाई लोकप्रिय बनाएका थिए । सांगीतिक माहोल भएको परिवारमा जन्मिएका उनका बुवा अपरेश लहरी प्रसिद्ध बंगाली गायक थिए भने आमा बनारसी प्रसिद्ध शास्त्रीय संगीतकार थिइन् ।

१९ वर्षको उमेरदेखि संगीत निर्देशनको काम सुरु गरेका उनले सन् १९७२ मा बंगाली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए । बलिउडका सयौं फिल्मका चर्चित गीतहरूमा संगीत दिएका उनलाई भारतको डिस्को बादशाह पनि भनिन्थ्यो ।

लहरीलाई सुन र गहना प्रति धेरै मोह थियो । उनले सुन आफ्ना लागि लकका रूपमा पनि लगाउने गर्दथे । उनले एक अन्तर्वार्तामा सुन लगाउनुको रोचक कारण उल्लेख गरेका थिए । ‘मलाई हलिउड गायक एल्विस प्रेस्ली धेरै मन पथ्र्यो,’ उनले भनेका थिए, ‘उसले सधैं घाँटीमा सुनको सिक्री लगाएको देखेँ, मलाई उसको शैली मनपर्थ्यो ।’

सन् २०१४ मा लहरीले निर्वाचनमा उम्मेदवारी दिएका थिए । त्यस समय उनले आफूसँग ७ सय ५४ ग्राम सुन र ४.६२ ग्राम चाँदी रहेको जानकारी दिएका थिए । उनलाई सुनसँग यति धेरै लगाब थियो कि उनको श्रीमतीले सन् २०२१ को धनतेरसमा उनलाई सुनको कपसेट उपहार दिएकी थिइन् ।

लहरीले सन् १९७७ मा चित्रानीसँग विवाह गरेका थिए । उनीहरूको दुई सन्तान छन् । उनको छोरी रिमा लहरी म्यूजिसियन हुन् भने छोरा बम्पा लहरी फेमस म्यूजिक निर्देशक हुन् । सांगीतिक क्षेत्रमा ठूलो योगदान दिएका लहरीका ‘आई एम अ डिस्को डान्सर’, ‘जूबी–जूबी’, ‘याद आ रहा है’, ‘तम्मा तम्मा लोगे’ जस्ता गीतहरू अझै पनि दर्शकस्रोतामाझ लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया