झगेन्द्र खड्का
गौरादह, २९ माघ २०७८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट निर्वाचित भएर राज्य संचालन गरेका दलका नेताहरुको आलोकाँचो ब्यबहारले मुलुकको भबिस्य अन्धकार भएको बताएका छन।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन क्षेत्रीय समिति क्षेत्र नं.५ ले गौरादहमा आयोजना गरेको बृहत् पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता लिङ्देनले बर्तमान परिस्थितिमा सत्ता संचालन गरिरहेका नेताहरुले राष्ट्रको परिस्थिति र जनताको मनोभावना बुझेर काम गर्न नसक्दा मुलुक गंभिर संकटमा परेको बताएका छन। हिन्दु धर्मको बिकल्प खोजेर धर्म निरुपेक्ष घोषणा गर्ने नेताहरुलाई अहिले हिन्दुराज्यको पक्षमा जनमत देखिएपछि पस्चाताप लागेको बताएका छन। जनताले दिएको अभिमतको दुरुपयोग भएको भन्दै जनताहरु मुलुक संरक्षण गर्ने पार्टीको खोजी गर्दै राप्रपा तर्फ आकर्षित भएको उनको भनाइ छ। विभिन्न पार्टीमा काम गरेका पार्टी नेता तथा कार्यकर्ताहरु राष्ट्र भक्ती पार्टीको खोजी गर्दा राप्रपाले बिकल्प दिएको बताएका छन। राप्रपाले देश र जनतालाई कहिलैपनि धोका नदिने धारणा राखेका छन। ठुला दलको नाम र साइनबोर्ड फरक परेपनि ब्यबहार एउटै भएको उनको दाबी छ। दलका नेताको सरकार चलाउने शैली नभएकाले जनताले सुशासन नपाउनुका साथै मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताएका छन। अहिले ठुला दलका नेताले भाषण गरेर जनता भुल्याउने काम गरेपनि जनता अब अलमलमा नपर्ने र राप्रपाले काम गरेर देखाउने बताएका छन।पार्टीका पुर्ब केन्द्रीय सदस्य लक्ष्मी संग्रौलाले सरकारले एम सि सि पास गरेर देश र जनतालाई धोका दिन लागेको बताएका छन।
एम सि सि मुलुकको हितमा नभएकाले कुनै हालतमा पास गर्न नहुने उनको भनाइ छ। पार्टीका केन्द्रीय सदस्य अमर बहादुर बिष्टले राप्रपाले मुलुकको हित र जनताको चाहना अनुसार काम गरेकाले जनताहरु राप्रपा तर्फ आकर्षित भएको बताएका छन। कार्यक्रममा नव प्रबेशिहरु डि पि भट्टराई, संदिप घिमिरे, बिक्रम अधिकारी, चन्द्र नेम्वाङ र पार्टीका गौरादह नगर अध्यक्ष शान्ति राम पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए। गौरादह-२ को अमर मा.बि. को प्राङ्गणमा संचालन भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ सय ५१ जना राप्रपा पार्टीमा प्रबेश गरेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन क्षेत्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति सान नेपालले जानकारी गराए। पार्टी प्रबेश गर्नेहरुमा गौरादह नगरपालिका वडा नं.१ का रहेको बताइएको छ। वरिष्ठ क्षेत्रीय उपाध्यक्ष खेम तिम्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्षेत्रीय सचिब देबेन्द्र कुमार खड्काले कार्यक्रम संचालन गरेका थिए।