Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, २३ पौष । झापाको गौरादहमा अन्तरपालिका स्तरीय कराते प्रतियोगिता सुरु भएको छ। गौरादह नगर खेलकुद विकास समितिले मेयर कप अन्तरगत विभिन्न उमेर समूहमा कराते प्रतियोगिता संचालन गरेको हो।

सामुदायिक भवन गौरादह २ मा संचालन गरिएको प्रतियोगितामा झापा जिल्ला भित्रका १२ वटा पालिका सहभागी भएका छन्। कराते प्रतियोगितामा विभिन्न उमेर समुहका पुरुष महिला सहित १ सय ४४ खेलाडी सहभागी भएको आयोजक समितिका सचिव निर्मल बाँस्तोलाले जानकारी गराए।

शुक्रबार सुरु भई शनिबार सम्पन्न हुने खेलमा पहिलो दिन पुरुष तर्फ ४२, ४७ र ५२ केजी र महिला तर्फ ४० र ४५ केजी तौल समूहका खेल सम्पन्न हुने आयोजकका प्रशिक्षक बिष्णु नेम्वाङले बताए। शनिबार पुरुष तर्फ ५७ केजी र त्यो भन्दा माथिका उमेर समूह र महिला तर्फ ५०, ५५ र त्यो भन्दा माथिका उमेर समूहका खेलाडीहरु बीच प्रतिस्पर्धा गराइने करातेका प्रशिक्षक नेम्वाङले बताए।

शनिबार खेल सम्पन्न भएपछि उत्कृष्ट हुने खेलाडीलाई ट्रफीका साथै सबै खेलाडीलाई मेडल र प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ। गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले औपचारिक कार्यक्रमका बीच खेलको उद्घाटन गरेका छन्। खेलको उद्घाटन गर्दै मेयर शाहले नगरपालिका भित्र रहेका खेलाडीका प्रतिभालाई प्रस्फुटन गर्न र कराते खेल खेल्ने खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी गराए।

गौरादह नगर खेलकुद विकास समिति अध्यक्ष हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बरिष्ठ कराते प्रशिक्षक मदन उप्रेतीले शुभकामना मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया