Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २८ कार्तिक २०७८ । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

बिहीवार साँझ भारतको ६ः३० बजेदेखि ६ः४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गतेयता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ ।

सामान्यतया प्राधिकरणले दैनिक औसतमा प्रतियुनिट भारू ३÷४ मा बिजुली विक्री गर्दै आएको छ । भारतमा देखिएको ऊर्जा संकट र पिक आवरमा विद्युत्को मूल्य बढ्ने गरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले कात्तिक १७ गतेयता आफ्नै स्वामित्वको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गर्दै आएको छ ।

प्राधिकरणले दिनमा १५÷१५ मिनेटको ९६ ओटा ब्लकमार्फत विजुली बिक्री गर्छ । त्यसअनुसार विद्युत् एक्सचेन्ज मार्केटमा १५÷१५ मिनेटमा नै बिजुलीको खरीदविक्री दर थपघट हुने गर्छ । त्यस क्रममा बिहीवार साँझ ६ः३० देखि ६ः४५ सम्मको ब्लकमा भारू २० मा नेपाली विद्युत् विक्री भएको हो ।

प्राधिकरणका अनुसार प्रत्येक ब्लकमा विद्युत्को खरीदविक्री दर फरकफरक वा एउटै पनि हुन सक्छ । भारू १ दशमलव ९९ मा पनि बिजुली विक्री हुने गरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रतियुनिट भारू २० मा बिजुली विक्री हुनु खुशीको कुरा भएको बताए । ‘त्यहाँ कुन दरमा बिजुली खरीदविक्री गर्ने भनेर हाम्रो हातमा हुँदैन । मार्केटको सिस्टमअनुसार प्रत्येक १५/१५ मिनेटमा बिजुलीको खरीदविक्रीदर मार्केटले नै निर्धारण गर्छ । माग र आपूर्तिको अवस्थाअनुसार विद्युत्को दर निर्धारण हुने गर्छ,’ उनले भने, ‘त्यस क्रममा हाम्रो विद्युत् पनि भारू २० सम्ममा विक्री भएको छ । तर, दैनिक औसतमा ३/४ भारूमा हाम्रो विद्युत् विक्री भइरहेको छ ।’

भारत सरकारले गत कात्तिक १५ गते प्राधिकरणलाई आफ्नो विद्युत् एक्सचेन्ज मार्केटमा विद्युत् विक्री गर्न अनुमित दिएको थियो । भारतले एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न त गत वैशाखमा नै अनुमति दिएको थियो । अहिले आएर विद्युत् विक्री गर्न पनि नेपाललाई अनुमति दिएको हो । त्यसपछि प्राधिकरणले त्यहाँको एक्सचेन्ज मार्केटमा ३९ मेगावाट विद्युत् विक्री गर्दै आएको छ ।

प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आधारमा भारतको ऊर्जा मन्त्रालयले नेपाललाई आफ्नो विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बनाएको हो । भारतीय खुला बजारमा विद्युत् किनबेचका लागि अनुमति पाउने नेपाल दक्षिण एशियाकै पहिलो मुलुक हो ।

 

तपाईको प्रतिक्रिया