झापा, २७ कार्तिक २०७८। सरकारले मंसिर १ गते देखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्ने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण गर्न थालिएको राहदानी विभागले जनाएको छ ।
मंसिर १ गतेदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने योजना रहेको विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले बताउनुभयो । त्यसका लागि यतिबेला विभाग अन्तिम तयारीमा जुटेको छ ।
विद्युतीय राहदानी वितरणका लागि प्राविधिक तथा प्रशासनिक सबै खालको तयारी अन्तिम चरणमा रहेको विभागले जनाएको छ । नेपाल सरकारले पासपोर्टको डिजाइन स्वीकृति दिएसँगै पहिलो चरणमा २० लाख थान छपाइ सम्पन्न भइसकेको छ ।
त्यसको प्रिन्ट भने वितरणको समयमा नेपालमै गर्ने गरी आवश्यक प्राविधिक तयारी विभागले पूूरा गरेको छ । आईएसओ १९०३ मान्यता प्राप्त विश्व स्तरकै प्रविधियुक्त तेस्रो पुस्ताको विद्युतीय राहदानी हो ।
विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीलाई नै मान्यता दिइने छ ।
तर, वितरणको मुखमै रहेकाले पुरानो राहदानीको म्याद सकिएकाले पनि केही दिन पर्खेर विद्युतीय राहदानी नै बनाउन विभागले आग्रह गरेको छ ।
विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । विदेशमा रहेका नेपाली नागरिकको हकमा नागरिकता नम्बरलाई मान्यता दिइनेछ ।ईमेजखबरबाट साभार