काठमाडौं, २५ कात्तिक २०७८। साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । यस दिन पनि बजार परिसूचक नेप्से ६० अंक बराबरले झरेर २६ सय ९० कायम भएर थामियो ।
कारोबार पनि ५ अर्ब हाराहारीमा खुम्चियो । सबै समूह राताम्मे रहँदा सबैभन्दा उच्च बीमा समूहमा ३ सय अंक हाराहारीले झरे ।
विकास बैंक समूह पनि २ सय अंक बराबरले घट्दा वित्त र लघुवित्त समूह पनि सय अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश समूहमा दोहोरो अंकको गिरावट आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको ९४ लाख कित्ता शेयर ५ अर्ब १२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १६ कम्पनीको बढेको एक्सचेन्जले जनाएको छ ।