Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 झापा(गौरादह) २० कात्तिक, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुुन मन्त्री हिक्मत बहादुर कार्कीले कला संस्कृति र चाडपर्वहरु राष्ट्रिय एकताको आधार भएको बताएका छन् । भौगोलिक बनावटमा सानो भएतापनि सांस्कृतिक विविधतामा नेपाल धनी रहेको बताउदै मन्त्री कार्कीले जात–जातिहरुको मिश्रित बसोबास रहेकाले सबैलाई एकताको शुत्रमा बाँधेर मुलुकको साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टि प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. ५ क झापाले गौरादहमा आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले राष्ट्रिय एकतालाई जोड दिएका हुन् ।

नेपालीहरुको चाडवाडको राष्ट्रिय महत्व रहेकाले जातजाति, धर्म, वर्गहरुले मनाउने संस्कारलाई सुब्यवस्थित गरि संरक्षण गर्नसके मुलुकको पहिचान र सम्पदा सुरक्षित हुनुको साथै नागरिकमा आपसि एकता बलियो हुने विश्वास व्यक्त गरे ।

मुलुकमा लामो समय सम्म राजनीतिक अस्थिरताका कारण विकास निर्माणको काम पछि परेकाले संघीय र परदेशको निर्वाचन पछि सरकारले विकास निर्माणको कामलाई प्राथमिकताको आधारमा दु्रत गतिमा शुरु गरेको बताए ।

उनले प्रदेश सरकार गठन भएपनि कानुन निर्माण र मन्त्रालय व्यवस्थापन, कर्मचारी व्यवस्थापनको कार्य सम्पन्न भईनसकेकाले केहि ढिलाई भएको बताए ।

मन्त्री कार्कीले विकास निर्माणको काममा केहि ढिलाई भएपनि जनतालाई नअतालिन आग्रह गरेका छन् । अबको बाकी समयमा जनताले देख्नेगरि सरकारले काम गर्ने र घोषणा पत्रमा उल्लेख भएका विकास निर्माणका काम पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसअवसरमा स्थानीय स्तरका र राष्ट्रिय स्तरका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए । राष्ट्रिय स्तरका कलाकार बाटोमुनि फुलका निर्माता राजेश घतानी, गायक सुमित खड्का र नवोदित गायिका प्रज्ञा प्रधानको बेजोड प्रस्तुति रहेको थियो ।

नेकपाका प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. ५ का संयोजक योगराज दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा झापा क्षेत्र नं ४ का प्रदेश संसद झलक सिंह दर्लामी, कमलगाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, नेकपाका गगन पुरी, नेपाली काँग्रेस गौरादह नगर सभापति यादवराज सेढाईं , प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेकपा गौरादह नगर अध्यक्ष मित्रदेव काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रम हुकुम नेपालीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया