Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सिन्धुपाल्चोक, २० कात्तिक । भूकम्पमा जिल्लाका सम्पूर्ण प्रहरी कार्यालयहरु ध्वस्त भएपछि पालमा बसेर जनताको शान्ति सुरक्षाका लागि खटिदै आएका सिन्धुपाल्चोकका प्रहरीहरु यतिबेला भने सुविधासम्पन्न भवन बस्न थालेका छन् ।

२०७२ सालको भूकम्पमा जिल्ला प्रहरी कार्यालयसहित प्राय सबै भवन ध्वस्त भएका थिए । लामो समयसम्म पालमा बसेर डिउटी गरिरहेका प्रहरीहरु भने यतिबेला भवन निर्माण सम्पन्न भएपछि भने आफ्नै प्रहरी कार्यालयमा बसेर डिउटी गर्न थालेका छन् ।

भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् ।

केही प्रहरी चौकीहरु भने वजेट भएपनि जग्गा अभावमा निर्माण हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको समन्वयमा पुन निर्माण प्राधिकरणले भूकम्पमा भत्किएका प्रहरी चौकीहरु निर्माणका लागि वजेट दिएको थियो ।

भूकम्प गएको एक वर्षपछि निर्माण सुरु भएका प्रहरी चौकीहरु सुविधासम्पन्न रुपमा निर्माण भइरहेको प्रमुख मरासिनीले बताए ।

जवानहरुको लागि ब्यारेक,महिला र पुरुषका लागि छुट्टा छुट्टै थुनुवा कक्ष,कार्यालय लगायतका संरचनाहरु नयाँ प्रहरी कार्यालयहरुमा रहेका छन् ।

जग्गा नहुँदा रोकिएका प्रहरी कार्यालयहरु बाहेक आउने वर्ष सबै प्रहरी कार्यालयहरु निर्माण सम्पन्न हुने जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कणेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सहित पाँच इलाका प्रहरी कार्यालय,पाँच अस्थायी प्रहरी पोष्ट र २१ प्रहरी चौकी सहित सिन्धुपाल्चोकमा विभिन्न स्थानमा गरी ३१ प्रहरी युनिटहरु रहेका छन् ।

साढे ५ सय प्रहरीहरु भूकम्पपछि अस्थाई टहरो र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पालमा आफ्नो कार्यालय सञ्चालन गरिरहेका थिए ।

भुकम्पपछि चिसो मौसम र वर्षामा समेत अस्थाई संरचनामा बस्दा प्रहरीलाई समस्या भएपनि भवन निर्माण भएपछि भने त्यो सबै समस्याबाट मुक्ति पाएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

अस्थायी संरचनामा बस्दा धेरै प्रहरीहरु बिरामी भएका र हातहतियार समेत सुरक्षा गर्न प्रहरीहरुलाई समस्या भएको डीएसपी विमलराज कणेलले बताए ।

३१ प्रहरी कार्यालय मध्ये जग्गा भएका जिप्रकासहित १७ प्रहरी कार्यालय निर्माणका लागि पुननिर्माण प्राधिकरणले २२ करोड रुपैयाँ पठाएको थियो ।

अन्य प्रहरी कार्यालय निर्माणका लागि प्राधिकरणले वजेट पठाएपनि जग्गा अभावमा वजेट फिर्ता भएको डीएसपी कणेलले बताए ।

भूकम्पपछि निर्माण सुरु गरिएको मध्ये इप्रका जलविरे, प्रहरी चौकी सानोसिरुवारी,ठोकर्पा,साँगाचोक र लामोसाँघु निर्माण सम्पन्न भइसकेका छन् ।अन्य प्रहरी कार्यालयहरु पनि निर्माण सम्पन्न हुने क्रममा रहेको डीएसपी कणेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया