काठमाडौँ, १६ कार्तिक २०७८ । एक हप्तामा सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि दुई लाख ३० हजारले आवेदन दिएका छन् । यातायात व्यवस्था विभागले गत कात्तिक ८ गते नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो ।
एक सातामा दुई पटक प्राविधिक समस्या आएको भन्दै विभागले सूचना जारी गर्दै आवेदन बन्द गरेको जनाएको थियो । ‘अब समस्या छैन,’ विभागका सूचना अधिकारी लोकनाथ भुसालले भने, ‘सोमबार साँझबाट पुनः आवेदन खुला गरिएको छ ।’
सुरु–सुरुमा १० लाख जनासम्मले एकैपटक सिस्टममा फारम भर्ने प्रयास गर्दा ढिलो र ‘इरर’ आएको उनको भनाइ छ । ‘सिस्टम मजबुद नभएर समस्या आइरहेको थियो, अब समस्या छैन,’ भुसालले भने, ‘सिस्टम बनाउनेले समस्या नआउने आश्वासन दिएका छन् ।’
६ महिनापछि नयाँ लाइसेन्सको आवेदन खुलेपछि भर्नेको चाप बढेको हो । सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरिएको हो । फारम भरेर बसेका नयाँ लाइसेन्स लिनेको संख्या अझै साढे ३ लाख बढी छ । यो संख्या सबैभन्दा धेरै काठमाडौंमा छ ।
नयाँ लाइसेन्सका लागि काठमाडौंका यातायात कार्यालयको नाम राखेर फारम भरे चार महिना र उपत्यका बाहिरका कार्यालयको नाम राखेर भरे १५ दिनदेखि एक महिनाभित्रमा पालो आउने उनको भनाइ छ ।






