Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौँ, १६ कार्तिक २०७८ । अब नयाँ सवारी साधन दर्ता गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर लिनु पर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार १ र २ नम्बर प्रदेश बाहेक अन्य सबै प्रदेशमा मंसिर १ गतेबाट यो नियम लागू हुनेछ ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार दुईवटा प्रदेशको नाम अहिलेसम्म नटुंगिएकाले ती प्रदेशमा अहिले नियम लागू हुने छैन । ‘अहिले सरकारी र राख्‍न चाहनेलाई काठमाडौं उपत्यकामा मात्र इम्बोस्ड नम्बर दिइएको थियो,’ सूचना अधिकारी भुसालले भने, ‘अब सबैतिर अनिवार्य हुने छ ।’

उनका अनुसार देशैभर यसलाई चरणबद्ध रुपमा लागू गरिने छ । सोमबार यातायात व्यवस्था विभागमा भएको छलफल पश्चात देशैभर यसलाई अनिवार्य गर्ने निर्णय भएको हो ।

‘सडक सुरक्षाको कुरापनि जोडिएकाले यसलाई क्रमश अनिवार्य गर्दै लग्ने भन्ने छ,’ उनले भने, ‘दर्ता र नविकरण गर्दा इम्बोस्ड नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ ।’ विभागका निर्देशक रामचन्द्र पौडेलका अनुसार मंसिर १ बाट नयाँ दर्ता, फागुन १ बाट नाम सारी र जेठ १ गतेबाट नविकरण गरिने सवारीमा यो नियम लागू हुनेछ । ठेक्का भएको पाँच वर्षमा १३ हजार सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गरिएको छ । २०७३ जेठ १७ मा भएको ठेक्का सम्झौताअनुसार यो अवधिभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने थियो ।

मुद्दामामिलाले गर्दा काम रोकिन पुगेको र अहिले केही समस्या नरहेको विभागले जनाएको छ । ठेक्का बगंलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले जोइन्ट भेन्चरमा लिएको हो । जसको म्याद गत असारमा अढाइ वर्ष थप भएको छ । विभागका अनुसार ठेक्का रकम ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजार ५ सय (४ करोड ३७ लाख ८७ हजार अमेरिकी ५ सय डलर) रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments