Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

रामेछाप, २० कात्तिक । रामेछापको लिखु तामाकोसी गाउँपालिकमा सोमबार आत्माहत्या गरिएकी भनिएकी झलमाया श्रेष्ठको हत्याको आशंका गरिएको छ ।उनले आत्माहत्या गरेको नभइ हत्या गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष, दुईजना वडाध्यक्षसहितका स्थानीयले प्रहरीमा उजुरी गरेका छन् ।

लिखु तामाकोशी गाउँपालिका(४ धोबी बजारकी ४० वर्षीया झलमाया श्रेष्ठको शव सोमबार बिहान उनकै घरको घुरीबलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उनलाई हत्यापछि झुण्ड्याएको भन्दै उनका पति धननारायण श्रेष्ठ र सोही स्थानकी गोपिनी खड्काका विरुद्ध गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, वडा नं ३ र ४ का वडाअध्यक्षहरु सहित २३९ जनाले प्रहरीमा उजुरी दिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

मृतक महिलाले अघिल्लो दिन पतिले कुटपिट गरी मार्न खोजेको भन्दै बचाउन बजारमा हारगुहार गरेकी थिइन् । उनले पतिले आफूलाई मारेर आत्माहत्या गरेको भन्न सक्ने भन्दै बचाउको लागि स्थानीयलाई अनुरोध गरेकी थिइन् ।

उनले बजारमा सहयोग मागेको स्थानीयले बताए पनि कसैले प्रहरी कार्यालयमा उजुरी भने नदिएको जिल्ला प्रहरी कार्याल रामेछापका प्रवक्ता शेख अदालतले बताए ।

गाउँपालिका प्रमुख गोबिन्दबहादुर खड्का, वडा नम्बर ३ र ४ का अध्यक्षसहित स्थानीय २ सय ३९ जनाले उनको हत्या भएको हुनसक्ने भन्दै संयुक्त हस्ताक्षर गरी प्रहरीलाई उजुरी गरेपछि धननारायन र गोपिनीलाई प्रहरीले सोमबारै पक्राउ गरेको छ ।

दुई जना मिलेर उनको हत्या गरेको भन्दै स्थानीयबासिले उनीहरुलाई कालोमोसो लगाउन खोजेका कारण दुबै जनालाई सुरक्षाको लागि पनि नियन्त्रनमा लिनुपरेको प्रहरीले जनाएको छ ।

शवको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्टमार्टम भएको छ । श्रेष्ठ र कार्कीलाई पनि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । पीडित परिवारले शव बुझ्न मानेका छैनन् ।

गाउँपालिका अध्यक्ष खड्काले उनको हत्या नै भएको बताउँदै यस बारेमा गम्भीर अनुसन्धान गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया