Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठ्माडौं, २३ असोज २०७८ । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८) मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको केही दिनमा देशका बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश नं १, २, बागमती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ठूलो वर्षाको सम्भावना भने कम छ ।

ती भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको छ । शनिबार राति मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडी आसपास विकसित भएको ९न्यून चापीय क्षेत्र०का कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन (वर्षायाम) भित्रिएको थियो ।

उक्त दिन नेपालको प्रदेश नं १, २ र बागमती प्रदेशमा भित्रिएकामा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो । सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतः विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने छ दिनपछि बहिर्गमन हुन थालेको छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिनेछ ।

कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ । यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमा गरिएको थियो ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारुपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी आकलन गर्ने गरिन्छ ।

तर यो जलवायु प्रणाली विभिन्न ऋतुगत सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भू–उपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारुपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न भने कठिन हुने विज्ञहरुको भनाइ छ ।

मनसुनजन्य घटनाबाट १३६ जनाको मृत्यु

यसपालिको मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन् । कूल ८४५ घर पूर्ण र १६९ घरमा आंशिक क्षति पुगेको छ । यस वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ । उक्त जिल्लामा मनसुनको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् ।

सिन्धुपाल्चोकको पनि मेलम्ची र हेलम्बुलाई बाढी र पहिराले तहसनहस बनाएको छ । त्यस्तै भौतिक क्षतिका हिसाबले मनाङ जिल्लामा समेत ठूलो असर गरेको छ । यसपालि मनसुनजन्य घटनाबाट ७१ जिल्ला प्रभावित भएको छ ।रासस

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments