Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २१ असोज २०७८ । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरूले बिहीबार घटस्थापनाको शुभ साइतमा माछा बिक्री केन्द्रहरू उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अर्ग्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्र बिर्ता बजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेका हुन् ।

फर्मालिन प्रयोग गरेर हप्तौँपछि नेपाल भित्र्याइएका भारतीय मरेको माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो छ ।
उपभोक्ताको गुनासो तथा जिल्लाका माछा पालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने गरी जिउँदो माछा बिक्री केन्द्रहरू सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए । गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टा र धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिकाभित्र बिर्ता बजार, चार पाने, बुट्टावारि, जात्रुबारी, अतिथि सदन रोड रस्याँलडाँगीमा केन्द्रहरू सञ्चालनमा ल्याएको हो । ११ वटै केन्द्रको एकमुष्ट उद्घाटन बिहीबार बिर्ता बजार बिक्री केन्द्रमार्फत गरिएको हो ।

सरसफाइमा विशेष ध्यान दिँदै उपभोक्तालाई अर्ग्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए । बिक्री केन्द्रमा पंघास, रहूँ, कमन कार्प, बिग हेड, पम्प्लेट,नैनीलगायतका माछा राखिएका छन् । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्यूरेम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ ।जिल्लामा माछा पालक किसानको सङ्ख्या दैनिक बढ्दै गए पनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे । उनले कृषि कर्मबाट किसानलाई पलायन हुनबाट रोक्ने नीति र सहुलियत दिने कार्यक्रमहरू ल्याउन सरकार समक्ष आग्रह समेत गरे ।

स्वास्थ्यको लागि माछा बहु उपयोगी भएकाले विषादीयुक्त फर्मालिन प्रयोग गरेको मरेको भारतीय माछाको सट्टा स्थानीय किसानले उत्पादन गरेका जिउँदो ताजा माछा खाने बानी बसाल्न ढकालले आग्रह गरे । पा“च जनाको उक्त टिमले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनी समेत स्थापना गरी माछाको दाना बिक्री गर्दै आएको छ ।भारतीय कम्पनी ग्रोवेल फिड्सको ग्रोवेल नामक माछाको दाना बिक्री गर्दै आएको सञ्चालक प्रमोद राजवंशीले बताए । उनले बडा दसैँ पछि जिउँदो माछा बिक्री केन्द्रहरू थप बिस्तार गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया