गौरादह, १३ असोज २०७८ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमक-६ झापाको १२ औं वार्षिक साधारणसभा सम्पन्न गर्नका लागि गौरादहमा सुझाव संकलन तथा प्रतिवेदन वितरण गरिएको छ । असोज ९ गतेबाट सुरु भएको संस्थाको प्रतिवेदन वितरण तथा सुझाव संकलन कार्यक्रम फरक-फरक स्थानमा सम्पन्न गर्न लागिएको हो ।
सहकारीले शेयर सदस्यहरुलाई भौगोलिक रुपमा पायक पर्ने स्थानहरु क्रमशः असोज ९,१० र ११ गते दमकको मुख्य कार्यालयबाट, १२ गते शिवसताक्षीको झिलझिले सेवा कार्यालयबाट र सुरुङ्गा क्षेत्रका सदस्यहरुका लागि प्रस्तावित सेवा कार्यालयको हलबाट र आज गौरादह नगरपालिका क्षेत्रका सदस्यहरुका लागि प्रस्तावित सेवा कार्यालयको हलबाट प्रतिवेदन वितरण, सुझाव संकलनको कार्यहरु गरिएको छ । यस्तै, उर्लाबारी सेवा कार्यालय अन्तर्गतका सदस्यहरुका लागि भोलि संस्थाको सेवा कार्यालयबाट प्रतिवेदन वितरण, सुझाव संकलन तथा उपस्थिति गराइने संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले जानकारी गराउनुभयो ।
कोभिड-१९ को कारणबाट भिडभाड नगरी जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संस्थाको साधारणसभा सम्पन्न गर्नुपर्ने र प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नं. १ को सूचना अनुसार आफ्नो कार्यक्षेत्रका शेयर सदस्यहरुलाई अनुकुल हुनेगरी साधारणसभाका लागि अलग अलग स्थानमा उपस्थित गराइएको संस्थाका अध्यक्ष रवि न्यौपानेले जानकारी गराउनुभयो ।
यस्तै, संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको १२ औं साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन ईकाइगत शाखा गौरादहमा सार्वजनिक गर्दै संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा १ अर्ब ८ करोड १० लाख ४९ हजार ७ सय ४४ को कारोवार गरेको र संस्थाको चुक्ता सेयरपुँजी ९ करोड ९२ लाख ८२ हजार रहेको जानकारी गराउनुभयो । प्रधान कार्यलय दमकमा रहेको संस्थाले हाल सम्म झापा तथा मोरङका विभिन्न स्थानमा सेवा केन्द्र बिस्तार गर्ने क्रममा गौरादहमा सेवा केन्द्र बिस्तार गरि नागरिकलाई सेवा दिइरहेको जानकारी गराउनु भएको थियो ।
संस्थाले साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन सेयर सदस्यहरुलाई जानकारी गराउदै यही असोज १५ गतेसम्म सदस्यहरुबाट सुझाब संकलन गर्न सेवा केन्द्र रहेका स्थानहरुमा प्रतिवेदनको बारेमा जानकारी गराउदै प्रतिवेदन वितरण गरेको र असोज १६ गते संस्थाको प्रधान कार्यलय दमकमा साधारणसभा सम्पन्न गर्ने अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो।
सेयर सदस्यहरुको सुझाबलाई संकलन गरि संस्थाले त्यसलाई अवलम्बन गर्ने र साधारणसभा सम्पन्न गर्ने दिन पुरस्कार तथा सम्मानका साथ साधारणसभा सम्पन्न गरिने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
स्वागत मन्तब्य राख्दै संस्थाका सचिब बुद्धि सागर बरालले यसै आर्थिक वर्षबाट गौरादहमा सेवा केन्द्रको कार्यलय स्थापना गरि सेयर सदस्यहरुलाई संस्थाले सेवा दिने जानकारी गराउनुभयो। संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक शिव प्रसाद अधिकारीले हाल सम्म ६ हजार ५ सय १३ जना सेयर सदस्य रहेको संस्थामा कुल बचत ६६ करोड १४ लाख ३३ हजार ३ सय ७४ रहेको जानकारी गराउनुभएको थियो।
साधारणसभा कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं.२ का वडाध्यक्ष हेमन्त कार्कीले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाहरुको बिस्तारले गौरादहका नागरिकहरुको आर्थिक कारोबार बढेको बताउनुभयो।
संस्थाका अध्यक्ष न्यौपानेको सभापतित्वमा गौरादहको प्रस्तावित सेवा कार्यालयको हलमा सम्पन्न प्रतिवेदन वितरण तथा सुझाव संकलन कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी र शेयर सदस्यहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो।








