Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाडौँ, २७ साउन २०७८ । कुलमान घिसिङले करिब ११ महिनापछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन् । बुधबार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको थियो । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो ।
विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।कान्तिपुरबाट साभार

 

 

तपाईको प्रतिक्रिया