Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १९ साउन २०७८ । दक्षिण एसियाकै सबभन्दा ठूलो जैविक मलको कारखाना प्रदेश २ मा स्थापना हुने भएको छ । निजी क्षेत्रको लगानीमा प्रदेश २ को धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ को तेजनगरमा २८ करोड रुपियाँको लगानीमा सो कारखाना खुल्न लागेको हो ।
बर्सेनि हुने रासायनिक मलको हाहाकार तथा त्यसप्रति परनिर्भरता घटाउनका लागि जैविक मलको कारखाना खोल्न लागेको आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडका प्रमुख शैलेन्द्रशमशेर जबराले बताउनुभयो ।

रासायनिक मलले उत्पादनमा ह्रास ल्याउँदै गरेको तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको देखेर किसान तथा उपभोक्ताको ध्यान अर्गानिक उत्पादनमा गएकोलाई ध्यानमा राखी ठूलो लगानीमा कारखाना खोल्न लागेको बताउनुभयो ।
खुल्न लागेको कारखानाको शिलान्यास भइसकेको छ । आगामी २०७९ वैशाखसम्ममा उत्पादन सुरु गर्नेगरी निर्माण कार्य सुरु भएको बताउँदै उहाँले सुरुमा वार्षिक सात हजार ५०० मेट्रिक टन मल उत्पादन हुने बताउनुभयो । माग बढ्दै गएपछि उत्पादनमा वृद्धि गर्ने लक्ष्य रहेको प्रमुख राणाले बताउनुभयो ।
प्रदेश २ मा सबभन्दा बढी कृषि कर्म हुने र अन्य प्रदेशमा जान त्यहाँबाट सजिलो हुने भनेर त्यहाँ कारखाना खोल्न लागिएको बताइएको छ । कम्पनीले कारखानाका लागि तीन बिघा जमिन खरिद गरेको छ । सोही जमिनमा मल कारखाना निर्माण हुने कार्य सुरु भएको छ ।

मल कारखानाका लागि आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडको आफ्नै लगानी हुनेछ भने त्यसमा बायोमिक्स यूएसए र विस वोर्थ बायोकेयर प्रालि भारतको प्राविधिक सहयोग रहने उहाँले जानकारी दिनुभयो ।
स्वदेशमा पाइने सामग्री प्रयोग गरेर बनाइने जैविक मल किसानका लागि निकै उपयोगी हुने विश्वास कम्पनीले लिएको छ । जुन क्षेत्रका लागि मल बिक्री हुन्छ, त्यो क्षेत्रका लागि त्यहाँको माटो परीक्षण गरी मल उत्पादन गर्ने योजना कम्पनीको रहेको छ । हरेक मल, हरेक माटोका लागि प्रयोग हुँदैन, हामीले हरेक ठाउँको माटो जाँच गरेर त्यहाँका लागि मात्र मल बनाउने योजना बनाएको बताउँदै उहाँले भन्नुभयो, “हामीले उत्पादन गर्ने अढाई किलो मल एक हेक्टर जमिनलाई पुग्छ । ”गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया