Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

म उठ्दिन !
भो उठ्दिन
लाज पनि लजाइसक्यो
बेइज्जत पनि सर्माइसक्यो
मलाई लम्पसार देखेर ।

म उठेझैं गर्छु अनि
लगत्तै पसारिएको देखेर
निन्द्रालाई नि पक्कै
अनौठो लागिसक्यो ।
छोडेको घण्टौं बितिसक्दा पनि
आँखा नखोलेको देखेर
निन्द्र पनि चकित छ ।

हो म उठ्दिन
किनकि म हेर्न चाहन्न
निर्मल मेलम्ची निर्दयी भएको
निर्दोशलाई बगाएको ।
किनकी म हेर्न चाहन्न
भारतका कोठीमा मेरी चेलीको
अस्मिता लुछिएको ।

मोबाइले पनि धिक्कारी सक्यो
दिनरात त्यसको मुखमा
कोतरेको देखेर,
खाट पनि वाक्कदिक्क भैसक्यो
लगातार मलाई लम्पसार देखेर ।

तर म उठ्दिन,
किनकी मलाई हेर्नुछैन यो देशमा
बागमती जस्तो दुर्गन्धित
राजनीति गरिएको ।
किनकी मलाई हेर्नु छैन
रबि र ज्ञानेन्द्र कुटिएको
र निर्मला लुटिएको ।

तर जब म निदाउँछु,
म देख्छु निर्मला अस्मिता बचाउन
मेरो पछाडि आएर लुकेको ।
म देख्छु सहस्र गोर्खाली सेनाले
जननी जन्मभूमीश्च भट्याएको ।

म देख्छु गंगालाल, सुक्रराज र धर्मभक्तले
मलाई झकझक्याएको ।
म देख्छु मेरै नेपाल आमाको
आँखाबाट बलिन्द्र धारा बगेको ।

विजय भेट्वाल

तपाईको प्रतिक्रिया