झापा, ३१ असार २०७८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७६ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ८ हजार २ सय ५६ र एन्टिजेन परिक्षणबाट ४ हजार ५ सय १२ जना गरि १२ हजार ७ सय ६८ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ६ सय ७६ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय ८२ र एन्टिजेन परिक्षणबाट ८ सय ९४ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४६ हजार ८ सय ६७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ९ हजार ४ सय ३७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ४६ हजार ५ सय ८६ जना र एन्टिजेन परिक्षणबाट २ लाख ५२ हजार ५४ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २४ हजार २५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६ सय १४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय २ जना आई.सी.युमा र १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २६ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






