Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

खगेन्द्र नेउपाने

ए !! के बूढो बूढो भन्छस ?
चाख्लास ! तँलाई पनि बूढो भनेको दिन
तँलाई पनि बाबै भनेको दिन
भि..त्र मन कसरी कटक्क खाँदो रहेछ
थाहै नपाइ आँखा कसरी रसाएर जाँदो रहेछ
ए !! के बूढो बूढो भन्छस ?
म जन्मँदा मलाई थाहै थिएन
मैले थाहै नपाइ मेरो नाम राखिदिएछन्
मलाई थाहै थिएन
कसैले मेरो गालामा चुम्मा खाँदै
तेरो डेडी म हुँ भने
कसैले कपाल मुसार्दै
तेरो मम्मी म हुँ भने
म नजन्मँदै मेरो भाषा ठिक्क भएर बसेको रहेछ
मेरो जात
मेरो धर्म
मेरो रिवाज
मेरो बंश
मेरा नरनाताहरु
मेरो गाउँ ठाउँ
मेरो देश मेरो राष्ट्रियता
मैले थाहै नपाइ मेरो चिनारीमा पसेको रहेछ ।
म यो पृथ्वीको बासिन्दा
तर मलाई स्वतन्त्र पृथ्वी घुम्ने अनुमति छैन
एउटा चरा जति पनि छैन म
जो साइबेरियाबाट गोवासम्म स्वतन्त्र बिचरण गर्नसक्छ
चराले चरालाई कहिले छेक्दैन
तर मान्छेले मान्छेलाई किन छेक्छ थाहा छैन ।
कसले किन यी देशहरु बनायो ?
कसले किन यता तेरो यता मेरो भन्दै भागबण्डा लायो ?
एउटा आली यता उता सार्न
किन हजारौं निर्दोषको रगत बगायो ?
भूगोलमा नदेखिने
तर
मानचित्रमा राता रगतका सीमा रेखाहरु किन बनायो ?
पृथ्वी सबैको साझा घर होइन ?
सबैले स्वतन्त्र घुम्ने स्वतन्त्रता किन छैन ?
मैले थाहै नपाइ यो सब भैरहेछ ।
मलाई कसैले ए नेपाली भनेर गाली गर्छ
चुचे भन्छ
हिन्दू भन्छ
दलित भन्छ
यी सब मेरो चाहनाले बनाएको होइन
म एसियन हुनुमा मेरो कुनै भुमिका छैन
मैले थाहै नपाइ यी सब भैरहेछन्
तर पनि तिनीहरु मलाई गाली गर्छन्
फलानु नस्लको भनेर दागा धर्छन्
आज मलाई बूढो हुन पनि इच्छा छैन
तन्नेरी तरुनीहरु
मलाई घोची घोची बाबै भन्छन्
भित्रै देखि हुँडलिएर आउँछ
भन्छु
ए ! के बूढो बूढो भन्छस ?
चाख्लास ! तँलाई पनि बूढो भनेको दिन
तँलाई पनि बाबै भनेको दिन
भि..त्र मन कसरी कटक्क खाँदोरहेछ
थाहै नपाइ आँखा कसरी रसाएर जाँदोरहेछ
ए!! के बूढो बूढो भन्छस ?
तपाईको प्रतिक्रिया