झापा, २४ असार २०७८ । देशभर आज १ हजार ८ सय ७५ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ५ हजार ३ सय ७४ र एन्टिजेन परिक्षणबाट ५ हजार १ सय ३० जना गरि १० हजार ५ सय ४ जनामा कोरोना परिक्षण गर्दा कुल १ हजार ८ सय ७५ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार २ सय १८ र एन्टिजेन परिक्षणबाट ६ सय ५७ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४१ हजार ४ सय ६९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ९२ हजार ८ सय ४९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ८६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ९६ हजार ७ सय ५३ जना र एन्टिजेन परिक्षणबाट २ लाख २२ हजार ५ सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २३ हजार ६ सय ९२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ७ सय ५५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ७२ जना आई.सी.युमा र १ सय ५७ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २५ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






