झापा, २३ असार २०७८ । निषेधाज्ञा थप खुकुलो भएसँगै निको हुने भन्दा पनि संक्रमितको संख्यामा वृद्धि भएको छ । देशभर आज २ हजार ९ सय ७९ संक्रमित थप हुँदा १ हजार ३ सय ३३ मात्र डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ८ सय ३५ र एन्टिजेन परिक्षणबाट ४ हजार ६३ जना गरि ११ हजार ८ सय ९८ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ९ सय ७९ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट २ हजार ७७ र एन्टिजेन परिक्षणबाट ९ सय २ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १ सय ६२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४० हजार ८ सय १२ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३३ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ९१ हजार ३ सय ७९ जना र एन्टिजेन परिक्षणबाट २ लाख १७ हजार ४ सय २१ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २३ हजार ७ सय ५६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ७ सय ८८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ७१ जना आई.सी.युमा र १ सय ६१ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २३ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






