Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौँ, ७ असार २०७८ । नेपाल डेरी एसोसिएसनले डेरी उद्योगीहरूलाई राष्ट्रिय दुग्ध विकास बोर्डले तयार गरेको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउन आह्वान गरेको छ । बन्द, हडताल तथा बन्दाबन्दीलगायतको अवस्थामा दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई रोकटोक गरिएको गुनासो आएपछि बोर्डले सो गाडीका लागि छुट्टै लोगो तयार पारेको छ ।

लोगो वितरण कार्य सुरु भइसकेको हुनाले एसोसिएसनले डेरी उद्योगीहरूलाई लोगो लिई प्रयोगमा ल्याउन आह्वान गरेको छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ पास भइसकेको छ ।
बोर्डले सूचना प्रकाशित गरी सबै डेरी उद्योगलाई आवश्यक कागजातसहित लोगोका लागि निवेदन दिन आह्वान गरेको थियो । सो आह्वानबमोजिम पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) र हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान गरिएको छ ।

सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो अङ्कित सवारी साधनलाई निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि बिनाअवरोध नेपालभर आवतजावत गर्न सहज हुने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सुनिश्चित भएको एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताउनुभयो ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments