Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ६ असार २०७८ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६३ अंकभन्दा धेरैले घटेको छ ।

सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ ।

आइतबार बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय ६५, जलविद्युतको एक सय एक, फाइनान्सको ८०, माइक्रोफाइनान्सको एक सय १७, जीवन बीमा समूहको तीन सय १० र निर्जीवन बीमा समूहको दुई सय ७९ अङ्कले ओरालो लागेको छ ।

यस्तै उत्पादन समूहको एक सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर एक सय सात अङ्कले घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि झन्डै १२ अर्ब रुपैयाँमै सीमित भएको छ । दुई सय ३१ कम्पनीका दुई करोड ७३ लाख ४४ हजार कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस दिन युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८.८ प्रतिशतले घटेको छ । बरुण र नेपाल हाइड्रो डेपलपरको मूल्य ८.७ प्रतिशतले घटेको छ ।

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनी व्याख्या गर्दै लगानी गर्नुपूर्व संयमता अपनाउन आग्रह गरेयता बजार निरन्तर ओरालो लागेको छ ।

बोर्डले मंगलबार विज्ञप्ती जारी गरेर संयमता अपनाउन आग्रह गरेको थियो । त्यसपछि बुधबार ५२ अंकले झरेको बजार बिहीबार १ अंकले घटेपछि बजार सम्हालिने अनुमान थियो ।

तर आइतबार आएको ६२ अंकको गिरावटले पुनः केही दिन बजार घट्न सक्ने अनुमान छ ।

 

तपाईको प्रतिक्रिया