Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ३ असार २०७८ । मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दै गएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको आधिकारीक वेबसाइटका अनुसार आज कोरोनाबाट ३९ जनाको मात्र मृत्यु भएको पुष्टी भएपछि मृतकको संख्या घट्दै गएको पाइएको हो । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, आज २ हजार ६ सय ७ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ७ सय ११ र एन्टिजेन परिक्षणबाट ४ हजार ७ सय ७३ जना गरि १२ हजार ४ सय ८५ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय ६८ र एन्टिजेन परिक्षणबाट ८ सय ३९ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २४ हजार ५६ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको जनाइएको छ । यस्तै, एकैदिन २ हजार १ सय ४१ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८८.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३२ लाख ४८ हजार १० जना र एन्टिजेन परिक्षणबाट १ लाख २८ हजार १ सय ५९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ५७ हजार ५ सय ३१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार १ सय ९४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ सय १६ जना आई.सी.युमा र २ सय ४९ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १५ जिल्ला रहेका छन् ।

यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया