Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

बुटवल, १४ कात्तिक । बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा र टाउका फेला परेको छ ।बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब चार क्वीन्टल खुट्टा र टाउका भेटाएको हो ।

जाडो याममा बढी माग हुने भएकाले खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि संकलन गरेर पाँच सय लिटरका दुईवटा डि फ्रिजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले फेला पारेको हो ।

समितिका अनुसार यो परिमाणको पुरानो र बासी मासुजन्य पदार्थ भेटिएको रुपन्देहीमा सबैभन्दा धेरै हो ।

समितिले यो परिमाणलाई अस्वभाविक मानेको छ । उक्त मासु पसलले मापदण्ड विपरीत बासी र पुरानो मासु बेचेको गोप्य सूचना र जनगुनासो आएपछि जिल्ला संयुक्त अनुगमन समितिले अनुगमन गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

पुरानो र बासी मासुले फुड पोइजनिंग र झाडापखाला जस्ता रोग लाग्ने र जनस्वास्थ्यमा गम्भीर असर पुराउने हुँदा मासु पसलेलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

ठूलो परिमाणमा बासी र पुरानो मासुजन्य पदार्थ भेटिएपछि उक्त मासु पसल अर्को सूचना नहुंदासम्मका लागि शिल गरिएको वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले जानकारी दिए ।

बुटवलकै ठूलो मासु पसल मानिने कुरैसी मासु पसलले प्रहरी, सेना, फिटनेस सेन्टर, ठूला होटलहरुमा मासु आपुर्ति गर्दै आएको थियो ।

बुटवलमा पशु बधशाला भवन बनेको ४ वर्ष पुरा हुंदा पनि सञ्चालनमा ल्याउन स्थानीय सरकारले बेवास्ता गर्दा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न वाध्य भएकाले तत्काल बधशाला सञ्चालनमा ल्याउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले बताए ।

तपाईको प्रतिक्रिया