गौरादह,२३ जेठ २०७८ । झापामा आज सबैभन्दा कम ७७ जनामा संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट २५ जना र एन्टिजेन परिक्षणबाट ५२ जना गरि ७७ जना संक्रमित थप भएको हो । आज ६४ जनाको पीसीआर र १ सय ३४ जनाको एन्टिजेन परिक्षणबाट गरी कुल १ सय ९८ जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो । पीसीआर परीक्षणबाट १७ महिला र ८ पुरुष गरि २५ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २७ महिला र २५ पुरुष गरि ५२ जनामा संक्रमण देखिएको छ ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ७ महिला र २ पुरुष, बिर्तामोडका १ पुरुष, गौरादहमा १ पुरुष, भद्रपुरका ५ महिला र ४ पुरुष, अर्जुनधाराका १ महिला, बुद्धशान्तिका २ महिला, कमलका १ महिला, शिवसतासीका १ पुरुष, झापाका १ महिलामा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ९ महिला र ५ पुरुष, मेचिनगरका २ महिला र ३ पुरुष, हल्दिबारीका ४ महिला र ३ पुरुष, अर्जुनधाराका ७ महिला र ९ पुरुष, कचनकवलका १ महिला र १ पुरुष, बाह्रदशीका २ महिला र २ पुरुष, झापाका २ महिला र २ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ हजार ४ सय पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा १ सय ९४ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ६ हजार ९ सय ४२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५३ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज रतुवामाई का ६२ वर्षिय पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय २६ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट ४८ वर्षिया महिलाको मृत्यु भएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार १ सय ७१ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५१ हजार ४ सय ८२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






