Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा,२३ जेठ २०७८ । देशभर आज संक्रमित हुनेको संख्या भन्दा पनि निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जना संक्रमित थपिंदा ६ हजार ६ सय ३६ जना कोरोना मुक्त भएका छन् । पीसीआर परिक्षणबाट ३ हजार २४ र एन्टिजेन परिक्षणबाट ४ सय ५५ जनाको गरि ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ५ लाख ८८ हजार १ सय २४ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १३ हजार ४ सय ५९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ५ सय ८३ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ६ हजार ६ सय ३६ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८३.५ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ७१ र एन्टिजेन परिक्षणबाट ३ हजार २ सय ६२ जना गरि कुल १३ हजार ७ सय ३३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ४३ हजार ६२ जना र एन्टिजेन परिक्षणबाट ६९ हजार ९ सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १९ लाख २५ हजार ९ सय ७५ जनाको र निजी बाट १२ लाख १७ हजार ८७ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

यस्तै, होम आइसोलेसनमा ८२ हजार ७ सय ३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ५ सय १४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ४२ जना आई.सी.युमा र ३ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ९९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५७ र निजी ३६ गरि ९३ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया