राजेश डोटेल , २२ जेठ २०७८

पानीमा नुन हराए जस्तै
मौनतामा धुन हराज जस्तै
औंसीमा जुन हराए जस्तै
मलाई हराउनु छ आफै भित्र यसरी
कि देख्नेले हराएको नदेखोस्
खोज्नेले खोजेर पनि कहिल्यै नभेटोस् 

मलाई हराएर आफैभित्र खोज्नु छ की
म को हुँ ?
पढाइले बनाएको इन्जिनियर हुँ की ?
कविताले बनाएको कवि हुँ की ?
कसैलाई धड्काएको मन हुँ की ?
आफैलाई धड्काएको तन हुँ की ?
म को हुँ ?

कसैले सम्झने विगत हुँ की ?
कसैलाई सम्झाउने भविष्य हुँ की ?
अरुलई बचाउने चाहना हुँ की ?
आफै बाँच्ने सपना हुँ ?
कसैको आँसुको ढिक्का हुँ ?
आफ्नै हाँसोको खित्का हुँ ?
नदीको दुई बगर हुँ की ?
समयको नमीठो प्रहर हुँ की ?
म को हुँ ?

प्रश्नहरु धेरै छन्
उत्तरहरु अलमलिएका छन्
बाटोहरु धेरै छन्
गन्तब्यहरु अलमलिएका छन्
मलाई पुग्नुपर्न हो थाहा छ
तर कहाँ पुग्नुपर्ने हो थाहा छैन् ।

उकालो भेटिएको छ
उचाई भेटिएका छैन
मैदान भेटिएको छ
क्षितिज भेटिएको छैन
नदी भेटिएको छ
सागर भेटिएको छैन
फूल भेटिएको छ
सुवास भेटिएको छैन
जुन भेटिएको छ
आकास भेटिएको छैन ।

हो त्यो जून भेटिएको छैन नि त्यो म हुँ ।

म आफूले सोचेको म हुँ
म अरुले बाँचेको म हुँ
म आफै भित्र अलमलिएको म हुँ
म आफैले आफैलाई खोज्दा हराएको म हुँ ।
गौरीगञ्ज–२, झापा

तपाईको प्रतिक्रिया

Comments