Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौँ, १७ जेठ २०७८ । काठमाडौँको डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सो सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘विगतमा सङ्ग्रहालय निर्माण गरेका कम्पनीहरुका लागि २१ दिनको म्याद राखी बोलपत्र आह्वान गरिएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षभित्रमा नै छनोट भएका कम्पनीसँग निर्माण सम्झौता गरिने छ ।’’
निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको समेत सहमति प्राप्त भइसकेको र अब निर्माणका लागि कुनै बाधाअड्चन नरहेको बताउँदै उहाँले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि काम सुरु हुने बताउनुभयो । सो सङ्ग्रहालय निर्माणका लागि यसअघि नै विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

महाकवि देवकोटाको घरलाई सरकारले खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि प्रतिष्ठानले सङ्ग्रहालय निर्माण प्रक्रिया अगाडि बढाएको कुलपति उप्रेतीले स्पष्ट पार्नुभयो ।
सङ्ग्रहालय निर्माण कार्यलाई प्रतिष्ठानले राष्ट्रिय गौरवको प्राज्ञिक योजनाका रूपमा अगाडि सारेको बताउँदै उहाँले यो घरको बाहिरी आकृतिलाई जस्ताको त्यस्तै राखेर आधुनिक उच्च प्रविधियुक्त सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो । बाह्र आना क्षेत्रफलमा ११ करोड ३३ लाख रुपियाँको लागतमा चारतल्ले भवन निर्माण हुनेछ ।
‘‘सङ्ग्रहालय परिसरको अग्रभागमा देवकोटाको पूर्ण कदको सालिक रहने छ, कवि गोष्ठी गर्न र नाटक प्रहसन देखाउन मिल्ने गरी एउटा डबलीसमेत निर्माण गरिने छ’’ सदस्य सचिव उपाध्यायले भन्नुभयो । प्रतीक्षालय र श्रव्यदृश्य कक्षसमेत निर्माण गरिने सो परिसरमा सुन्दर बगैँचासमेत बन्ने छ ।

सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामाग्री, दोस्रो तल्लामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने भएको छ । भवनको तेस्रो तल्लामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिने छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा।डा। जगतप्रसाद उपाध्यायले सङ्ग्रहालयको निर्माणसँगै नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाप्रति मात्र सम्मान नभएर सिङ्गो नेपाली साहित्य र साहित्यकार नै सम्मानित हुने वातावरण तयार हुने बताउनुभयो ।गोरखापत्रबाट

 

 

तपाईको प्रतिक्रिया