Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पदमप्रसाद भट्टराई

गौरादह, १६ जेठ २०७८ । सम्भवत: केही दिनपछि गाँउमा चैतेधान पाक्नेछ।आशा गराै ती दिनहरुमा हिजोआज परिरहेको पानीले बिश्राम लिनेछ र दिनहरु छ्याङ्ग खुल्नेछन्। चैतमा रोपेर जेठ अन्तिमबाट पाक्न शुरुभई असार १५ मा पाकिसक्ने यो धानलाई नभिजाईकन थान्को लाउनु हरेक किसानको चाहना हुन्छ।

कृषिमा यान्त्रिकरणको प्रयोगले आजकल त सबैथोक मिल्ने हो भने २ या बढीमा ३ दिनमा यो धानपराल थान्को लाउन सकिन्छ र सक्नु पनि पर्छ। प्राय: किसानहरुले मंसिरमा पाकेको धान खान राख्ने र चैतेधान बेच्ने हुँदा यो धानलाई नभिजाई जोगाएर बेच्न आतुर हुन्छन तर पनि जेठ असारको महिना पानी पर्ने अधिक सम्भावनाका बीचमा पनि पाकेको अन्नलाई समयमै काटेर, माडेर, बेचेर थन्क्याउनु चुनौतीपूर्ण हुन्छ। असारे खर्च र पुगेसम्म दशैं खर्च समेत धान्ने चैतेधान भिजेमा एकैदिनमा उम्रेर नाश हुने र बिक्री समेत नहुने हुँदा त्रिपालले छोपेर हुन्छ की घर ओत भित्र राखेर हुन्छ, जसरी पनि भिज्न नदिई किसानले धान पराल थान्क्याउछन्।

प्रसंग चामलको हो, आफ्नै ठाँउको हो। गतसालको महामारीको लकडाउनमा बाँडेर बचेको भनिएको ५००० केजि चामल कुहिएर नाश भएको र नगरपालिकाको प्राङ्गडमा प्रक्रिया नपुर्याई गाडेको समाचारले केही दिनहरुबाट सामाजिक संन्जालहरुमा ठाउँ पाईरहेको छ।आफ्नै ठाउँको यस्तो निन्दनीय कार्यले बिदेशमा रहदा झनै पिरोल्दोरहेछ, साथीहरुका अगाडि कायम रहेको झापालीको बेग्लै पहिचानमा कमि ल्याउने र नाजवाफ बनाउदो रहेछ।

एउटा सामान्य किसानले त सकेसम्म अन्नबाली भिजाउदैन, सडाउदैन भने नगरपालिकाका जिम्मेवार तहमा रहेका जनप्रतिनिधि, कर्मचारी र पार्टी संयन्त्रले यस्तो गैरजिम्मेवार काम कसरी गर्नसके होला ? आफनो घरको नहुदैमा, आफ्नो पसिना नबग्दैमा यो हदसम्मको लापरवाही र बेवास्ता गर्नुमा कुन स्वार्थले काम गरेको होला ? निरुत्तरित यी प्रश्नको जवाफ जिम्मेवार निकायले दिन जरुरी छ।

कोभिड १९ को प्रकोप सकिएको थिएन, फेरि फैलने सम्भावना छदैथियो। बचेको चामल फेरि गरिब निमुखाहरुलाई बाँडन चाहिन्छ भन्ने सामान्य ज्ञान हाम्रा जनप्रतिनिधि लगायतलाई पक्कै थियो र नै भण्डारण गरेको हुनुपर्छ। यतिसम्म सोच्नसक्ने ले पानी चुहिने गोदाममा अन्न राख्नु हुदैन भन्ने कुरा चैं किन नजरअन्दाज गरेका हुन, प्रश्न गम्भिर छ।

बर्षाै पुरानो साझाको उक्त पानी चुहिने भवन नै रोजाईमा पर्नुको कारण के हुनसक्छ ? नजिकै रहेको १ नम्बर वडा कार्यालयको नयाँ भवनको एउटा कोठामा पनि उक्त चामल सुरक्षित राख्न सकिन्थ्यो। चामल फेरि चाहिन्छ राख्नुपर्छ भन्ने निर्णय गर्ने क्रममा सुरक्षित कहाँ, कसरी राख्ने भन्ने कुरामा पनि छलफल भएको हुनुपर्ने हो तर यसलाई हचुवाको भरमा गैरजिम्मेवार भएर निर्णय गरेको भन्न सकिन्छ।

अन्नको एक सीता पनि नाश गर्नु हुदैन भन्ने हाम्रा बावु बाजेहरुको भनाई र अन्नको श्रापको डरले हामीहरु अन्नलाई सम्मान गर्छाै। कोरोना कहरमा खान नपाएका भोका पेटहरुका पीडा चामलसंग गाँसिएको हुन्छ।अन्नको माया र महत्व केवल खानेहरुलाई भन्दा उब्जाउने किसानलाई बढी हुन्छ। तसर्थ अन्नको नाश गर्नु भनेको किसानको अवमुल्यन गर्नु हो। त्यत्रो परिमाणको चामल नाश हुनुमा ती किसानहरु, जसले आफु भन्दा अरुको निम्ति दिनरात मेहनत गर्छ, को पसिनाको कदर नगर्नु हो, यसको हरहिसाब हुनैपर्छ। होइन भने अन्नको श्राप हामी सबैलाई लाग्नेछ।

गाैरादह नगरपालिका शुरुदेखि नै बिवादस्पद हुदै आएको छ। जनप्रतिनिधिहरुको बनावट मै समस्या छ।फरक फरक पार्टीबाट प्रतिनिधित्व भएको र एकले अर्कोलाई सहकर्मी नमान्ने, नगरपालिकाको हितका निम्ति पार्टीभन्दा माथि उठेर सामुहिक र सर्वसम्मत निर्णय गर्न नसक्ने, एकले अर्कोको अस्तित्व र उपस्थिति नस्विकार्ने, समय छदै उचित कदम चाल्न नसक्ने, र खुट्टा तानातान गरेर ” म ठीक ऊ गलत ” बनाएर आफ्नो ब्याक्तिगत तथा राजनीतिक स्वार्थ पुरा गर्ने जस्ता हरकतहरु अझैसम्म कायम रहेको हुँदा नगरपालिका देशबिदेशमा बदनाम हुने, नगरबासीले सहज रुपमा सेवा नपाउने, र यस्तै निन्दनीय र दण्डनीय चामल काण्ड दोहरिरहने छ। एउटा गलत कामले अर्को गलत काम जन्माउछ भनेझैँ कुहिएको चामल प्रक्रिया, बिधि र सर्वसम्मत निर्णय बिना नै नगरपालिकाको प्राङ्गडमा गाडनु अत्यन्त खेदजनक छ।

अन्त्यमा, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पार्टी संयन्त्रका ब्याक्तिहरु कोही न कोही चामल नाश हुनुमा जिम्मेवार हुनुपर्छ। केन्द्रिय तहबाट स्थानीय नगरबासी र संस्था समेत संलग्न एउटा शक्तिशाली छानविन समिति गठन गरी चामल काण्डका दोषीहरु पत्तालगाई नाश भएको चामलको मुल्य समेत उनीहरुबाट क्षतिपूर्ति स्वरुप असुल गर्ने साथै हालसम्मका नगरपालिकाका बिवादास्पद निर्णयहरु समेत अध्ययन गरी दोषीलाई आवश्यक कारबाही सिफारिस गर्न उक्त समितिले खुट्टा कमाउनु हुदैन।
गाैरादह झापा हाल – कतार

तपाईको प्रतिक्रिया