झापा,१५ जेठ २०७८ । देशभर आज पनि कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या उच्च रहेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना संक्रमित थपिंदा एकैदिन ६ हजार ८० जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ४ हजार ३ सय ११ र एन्टिजेन परिक्षणबाट १ सय ७६ जनाको गरि ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको जनाइएको छ । एकैदिन ६ हजार ८० जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ६ र एन्टिजेन परिक्षणबाट ७ सय ४६ जना गरि कुल १४ हजार ७ सय ५२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३० लाख ३१ हजार ३ सय ८३ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख ५१ हजार ६ सय ३ जनाको र निजी बाट ११ लाख ७९ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ९१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ११ हजार ५ सय ९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ३ हजार ७ सय जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ६ सय १४ जना आइसियुमा र ४ सय ५७ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ५० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा ११ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १ सय १६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






