नगर प्रमुख चड्ने गाडि स्वास्थ्य कर्मीलाई, सबै वडामा फोकल पर्सन सहित सिआइसिटि टोली र चारवटा एम्बुलेन्स तैनाथ
शान्ति सुब्बा
गौरादह, १४ जेठ । तिव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम बिरुद्ध लड्न गौरादह नगरपालिकाले थप तयारी गरेको छ । बिरामी बोक्न चारवटा एम्बुलेन्स, एउटा शव वाहन, सबै वडामा फोकल पर्सन तोकिएको र कन्टयाक्ट ट्रेसिङ तिव्र बनाउन सबैवडामा (सिआइसिटि) टोली समेत बनाइएको नगर स्वस्थ्य शाखाले बताएको छ ।
नगर प्रमुख रोहितकुमार शाहले आफू चढ्ने सवारी साधन पनि स्वास्थ्य कर्मीलाई दिएका छन् । संक्रमित बिरामीहरुलाई छिटो सेवा दिन स्वास्थ्यकर्मीहरुलाई यातायातको साधन अभाव भएका कारण आजबाट आफूले प्रयोग गर्दै आएको गाडि स्वास्थ्यकर्मीहरुलाई दिइएको नगर प्रमुख शाहले बताउनुभयो ।
कोभिड–१९ संक्रमित भएका शंकास्पद बिरामीहरुका लागि नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन तथा अन्य हस्पिटल सम्म निशुल्क पुर्याउन ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गौरादह नगरपालिकाको विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख शाहले जानकारी दिनुभयो ।
कोही नागरिक संक्रमित भएर बिरामी भएको खबर पाउनासाथ तत्कालै उद्दार गरेर एम्बुलेन्स मार्फत तत्काल अस्पताल लगिने तथा आवस्यक परेमा मेयरको गाडि समेत बिरामी बोक्न प्रयोग गर्न पनि सकिने उहाको भनाइ छ ।
यस्तै, कोरोना संक्रमित कोहि बिरामीको मृत्यु भएमा एउटा शव वाहनको पनि व्यवस्था गरिएको उहाँले बताउनुभएको छ । चार वटै एम्बुलेन्सका चालक, शव वाहन चालक, स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पीपीई लगायतका सुरक्षाका सामग्री समेत व्यवस्था गरिएको नगर प्रमुख शाहले बताउनुभयो ।
कोभिड-१९ संक्रमणको जोखिमलाई कम गर्न कन्टयाक्ट ट्रेसिङको कार्यलाई अघि बढाउने, आइसोलेसनलाई व्यवस्थित गरिने साथै अक्सिजन सिलिन्डरको व्यवस्था गरिने कार्यलाई तिब्ररुपमा अगाडि बढाइएको जनाइएको छ ।
हाल गौरादह नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसनमा ३५ वटा बेड रहेको छ भने, १० वटा अक्सिजन सिलिन्डर रहेको जनाइएको छ । जसमा एकजना डा.निरज निरौला सहित २ जना नर्स गरि ३ जनाले सेवा दिइरहेको जनाएको छ । यस्तै, गौरादह-४ मा यसअघि कोरोनाका कारण एकै परिवारको २ जनाको मृत्यु भएकोले त्यस क्षेत्रमा संक्रमितहरु अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै हिंजो बिहिवार बसेको समितिको बैठकले त्यहाँको प्रभावित केहि क्षेत्र शिल गरिने निर्णय पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
समितिको निर्णयले ९ वटै वडाका लागि कोभिड–१९ फोकल पर्सन पनि तोकेको छ । जस अन्तर्गत गौरादह–१ मा सुरेन्द्र बहादुर बस्नेत, २ नं. वडा मा हस्त बहादुर दाहाल, ३ नं. वडामा नरेन्द्र भारती, ४ नं. वडामा दिनेस भट्टराई, ५ नं. वडामा भनुभक्त दाहाल, ६ नं. वडामा रामकृष्ण जोशी, ७ नं. वडामा हेम बहादुर अधिकारी, ८ नं. वडामा बलराम न्यौपाने र ९ नं. वडाका लागि विष्णु बहादुर श्रेष्ठ फोकल पर्सन तोकिएका छन् ।
यस्तै, कन्टयाक्ट ट्रेसिङ (सिआइसिटि) संयोजकमा वडा नं. १,२,३,४ र ५ का लागि विनोद थापा, वडा नं. ६,७,८ र ९ का लागि हेमन्त प्रधान तोकिएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तैगरि, होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्यका लागि बैगुन्धुरा स्वास्थ्य शाखाबाट आयुर्वेदिक औषधि सहित स्वास्थ्यकर्मी र संक्रमित वडाका वडाध्यक्षहरु संक्रमितका घरघरमा गएर औषधी वितरण गर्ने कार्य गरिरहेको गौरादह नगरपालिका का उप प्रमुख गिता भेट्वालले जानकारी दिनुभयो ।
अहिले सम्म सबै वडामा आयुर्वेदिक औषधि वितरणको कार्य गरिएकोमा २ र ३ नं. वडामात्र बाँकी रहेको उप प्रमुख भेट्वालले बताउनुभयो । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै गौरादहमा हिंजो(बिहिबार)को तथ्यांक सम्म १ सय ९३ जना कोरोना संक्रमित भइसकेका छन् ।
दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादह नगरपालिकामा अभिलेखिकरण भएका मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि जम्मा ६ पुगेको छ । यस्तै आज कोहि पनि संक्रमित नभएको स्वास्थ्यका सह-संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।






