अनलाइनविचार संवाददाता
गौरादह, १३ जेठ २०७८ । झापाको गौरादहमा आज सबैभन्दा कम उमेरकि २ वर्षिया बालिका सहित ८ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १ र एन्टिजेन परिक्षणबाट ७ गरि आज ८ जनामा संक्रमण भेटिएको हो । संक्रमितहरु गौरादह नगरपालिका-२ का ३१ र ३३ वर्षिय पुरुष, वडा नं. ४ कि २,४४,४५,८९ वर्षिया महिला र ३१ वर्षिय पुरुष, वडा नं. ८ कि २२ वर्षिया महिला रहेका छन् । जसमा महिला मात्रै ५ जना र ३ जना पुरुष संक्रमित भएका छन् ।
आज ८ जना संत्रमित थप भएसँगै गौरादहमा दोस्रो लहरको भेरियन्ट सँगै संक्रमित हुनेको संख्या १ सय ९३ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमित भई अहिले १ सय २५ जना होम आइसोलेसनमा रहेका छन् । १९ जना हस्पिटलको आइसोलेसनमा रहेका छन् ।
गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ महिला र ४ पुरुष गरि ५ जना संक्रमित रहेका छन् । ३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर रहेको जनाइएको छ । आज ४० जनाको एन्टिजेन परिक्षण गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि ६ पुगेको सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो ।






