झापा,१३ जेठ २०७८ । देशभर आज पनि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दो क्रममा रहेको छ । पीसीआर परिक्षणबाट ६ हजार ७ सय ३१ र एन्टिजेन परिक्षणबाट २ सय ७ जनाको गरि ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको जनाइएको छ । एकैदिन ७ हजार २ सय २६ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ४ सय १४ र एन्टिजेन परिक्षणबाट ५ सय ७८ जना गरि कुल २० हजार ९ सय ९२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २९ लाख ९८ हजार ६४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख २९ हजार ९ सय जनाको र निजी बाट ११ लाख ६८ हजार १ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म १ हजार ९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १६ हजार ४ सय ७६ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार ६ सय २६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ५० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ६ सय ४५ जना आइसियुमा र ४ सय ५७ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा बिहिबार १ सय ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






