अनलाइनविचार संवाददाता
गौरादह, १२ जेठ २०७८ । झापाको गौरादहमा आज ६ वर्षिया बालिका सहित ६ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ५ जना र रेपिड एन्टिजेन परिक्षणबाट १ जना गरि ६ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमितहरु गौरादह-२ का ५० वर्षिय पुरुष, वडा नं.४ का २५ वर्षिय पुरुष, वडा नं. ५ का ६४ वर्षिय पुरुष, वडा नं. ७ का ४० वर्षिय पुरुष, ३६ र ६ वर्षिया महिला गरि ४ पुरुष र २ महिलामा संक्रमण भेटिएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । कोभिड-१९ को दोस्रो लहरको संक्रमण फैलिएसँगै गौरादहमा अझै पनि जोखिम कायम नै रहेको छ । आज ६ जना संक्रमित थप भएसँगै गौरादहमा दोस्रो लहरको भेरियन्ट सँगै संक्रमित हुनेको संख्या १ सय ८५ पुगेको छ । आज १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४७ पुगेको छ ।
कोरोना संक्रमित भई अहिले १ सय १२ जना होम आइसोलेसनमा रहेका छन् । १८ जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या शुन्य रहेको छ । गौरादह नगरपालिकाको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् । ३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर रहेको जनाइएको छ । अहिले सम्म २ सय २८ जनाको एन्टिजेन परिक्षण गरिएको जनाइएको छ ।
यस्तै, कोरोना संक्रमणबाट गौरादह-२ का ५० वर्षिय बुद्धि प्रसाद गौतमको मृत्यु भएको छ । मृतक पुरुषमा वैशाख २८ गते एडभान्स हस्पिटलमा रेपिड एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएको भएतापनि जानकारी आज मात्र प्राप्त भएको स्वास्थ्यका सह-संयोजक श्रेष्ठले बताउनुभयो । मृतकमा संक्रमण भेटिएपछि एडभान्स हस्पिटलमा उपचाररत रहेको बेला हिंजो(मंगलबार)राति १०ः३५ मा मृत्यु भएको हस्पिटलले जनाएको छ । यो सँगै दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि ६ पुगेको सह-संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।






