Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

शान्ति सुब्बा
गौरादह, ८ जेठ २०७८ । झापाको गौरादहमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । दोस्रो लहरको कोरोना फैलिएसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि हुनुका साथै मृतकको संख्या पनि बढ्दै गएको हो । कोरोना संक्रमणबाट गौरादह-४ खाङ्टाका ३० वर्षिय सन्तोस ताजपुरीयाको मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

गौरादहमा कोरोना संक्रमणबाट एकै परिवारका २ जनाको मृत्यु भएको पहिलो पटक हो । यसअघि मृतक ताजपुरीयाको ५० वर्षिय आमा शान्ति देवी ताजपुरीयाको वैशाख २३ गते कोरोना संक्रमणकैै कारण मृत्यु भएको थियो । मृतक पुरुषमा वैशाख २४ गते संक्रमण पुष्टी भएपछि कोभिड अस्पताल विराटनगरमा उपचाररत रहेका थिए । उनको आज बिहान १२ः४५ बजे मृत्यु भएको कोभिड अस्पताल विराटनगरले जनाएको छ ।

मृतक ताजपुरीया घरका कान्छा छोरा रहेका छन् । उनका बुवा र भाउजु संक्रमित भएर अहिले सामान्य अवस्थामा रहेको बताइएको छ भने, जेठा छोरा अझै पनि हस्पिटलमा नै उपचाररत रहेको जनाइएको छ । आज १ जनाको मृत्यु भएसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेपनि काठ्माडौंमा मृत्यु भएका २ जनाको विवरण प्राप्त नभइसकेकाले आधिकारिक रुपमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको सहसंयोजक श्रेष्ठले बताउनुभयो । हिंजो सम्मको तथ्यांक अनुसार गौरादहमा कोरोना संक्रमित हुनेको संख्या १ सय ४७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया