अनलाइनविचार
गौरादह, २९ वैशाख । विवहाको सबै तयारी पूराभयो तर केटी/केटा खोज्न बाँकी छ भनेझै थियो गौरादह नगरपालिकाको कोरोना महामारी सामना गर्ने तयारी । अब त्यो अवस्थाको अन्त्य हुने देखिएको छ ।
कोभिड–१९ अस्थायी अस्पताल गौरादहको संचालनको लागि आवस्यक चिकित्सक सहितको जनशक्ति नियुक्ति गर्न विज्ञापन गरेको ६ महिना पछि परीक्षाको मिति तोकिएको छ । झापाको गौरादह नगरपालिकाले २०७७ मंसिर २३ गते गरेको विज्ञापनको आधारमा दरखास्त पेश गर्ने परीक्षार्थीहरुको प्रारम्भिक सूची वैशाख २८ गते प्रकाशन गर्दै यहि महिनाको ३१ गतेलाई अन्तरवार्ताको मिति तोकिएको हो ।

सरकारको परिपत्र अनुसार कोभिड–१९ अस्थायी अस्पताल गौरादह नगरपालिकाले मात्र संचालन नगरेको भनेर चौतर्फी आलोचना भएपछि नगरपालिका परीक्षा गर्न बाध्य भएको हो । गौरादह नपामा अझै सुरु भएन कोभिड–१९ अस्थायी अस्पताल किन ? शीर्षकमा वैशाख २३ गते अनलाइनविचार डिजिटल खबर पत्रिकामा समाचार प्रकाशित भएपछि जनशक्ति छनौटको विज्ञापनको पक्रिया अलपत्र पारिएको विषय सार्वजनिक भएको थियो ।
नेपाल सरकारले अस्पताल नभएका देशै भरका ६४९ स्थानीय तहहरुलाई ५ बेडको अस्पताल तत्काल सञ्चालन गर्न गराउन भनि ९ महिना अगाडि २०७७ भदौ २३ गते पत्रचार गरेको थियो । केन्द्र सरकारले भदौमा नै दश लाख रुपैयाँ र मंशिरमा १० लाख गरेर २० लाख सो अस्पताल संचालन गर्न नगरपालिकाको खातामा बजेट समेत पठाउदा समेत नपाले अस्पताल सञ्चालन गरेको छैन । परीक्षा गरेर जनशक्ति छनौट भएपछि र आवस्यक पूर्वाधार तथा उपकरण खरिद गरेपछि अस्पताल संचालनको बाटो खुल्ला हुनेभएको छ ।

संघीय सरकारको परिपत्र अनुसार कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्न नगरपालिकाको पदपूर्ती समितिले एकजना मेडिकल अधिकृत पदमा एमबिबिएस डाक्टर, दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको करारमा नियुक्ति गर्नेगरी छनौट गर्नेछ । त्यस अनुसार दरखास्त पेश गर्नेहरु मध्येवाट एकजना एमबिबिएस डाक्टरको लागि दुईजना र दुईजन स्टाफ नर्सको पदमा पाँचजनाको नाम प्रारम्भिक सूचीमा नाम प्रकाशन गरिएको छ । उनीहरुको अन्तरवार्ता परीक्षा ३१ गते भएपछि छनौट प्रक्रिया पूरा हुनेछ ।
नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संक्रमणले गौरादह पनि उच्च जोखिममा देखिएको छ । आजको दिन सम्ममा गौरादहमा सक्रिय संक्रमितको संख्या ६१ नाघिसकेको छ । गौरादह नगरपालिकाको भने केन्द्र सरकारको अस्पताल सञ्चालन गर्ने निर्देशन कार्यन्वयनमा ढिलै भएपनि आँखा खुलेको छ ।
कोभिडबाट बच्न बचाउन नगरपालिकाले अक्सिजन सहितको ब्यवस्थित आइसोलेसन तथा पर्याप्त बेड सहितको क्वारेन्टाइन समेत निर्माण गरेको भएता पनि चिकित्सक र नर्स लगाएतका जनशक्तिको अभाव थियो । परीक्षाबाट जनशक्तिको पदपूर्ती भएपछि गौरादहको आइसोलेसनमा रहेका संक्रमितले स्वास्थ्य मापदण्ड र प्रोटोकल अनुसार स्वास्थ्य उपचार पाउनेछन् ।
स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन २०७७ को दफा २ मा स्थानीय तहले करारमा लिनुपर्ने कर्मचारी संक्षिप्त बिधिबाट तत्काल ब्यवस्था गर्नुपर्ने छ भनिएको भएता पनि गौरादह नगरपालिकाले उक्त निर्देशन बिपरित कर्मचारी नियुक्तिमा लापरबाही र ढिलासुस्ती गरेको देखिएको छ ।






