झापा,२९ वैशाख २०७८ । कोभिड-१९ को दोस्रो लहर छिमेकि देश भारतमा भन्दा अहिले नेपालमा यसले गम्भिर रुप लिँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रत्येक दिन भारतको तुलनामा संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेकोले पनि नेपाल अहिले कोभिड१९ महामारीको गम्भिर जोखिममा रहेको इपिडिमियोलोजी डा.अर्चना श्रेष्ठले बताउनुभयो ।
यस्तै, देशभर पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ३ सय ६२ जना र एन्टिजेन परिक्षणबाट ४ सय २५ जना गरि कुल २० हजार ७ सय ८६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २६ लाख ९३ हजार ८८ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख ५० हजार ८ सय ८ जनाको र निजी बाट १० लाख ४२ हजार २ सय ८० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ५ सय १७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १ हजार ६ सय ३४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९४ हजार ३ सय ४३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार २ सय ९१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार २ सय ४१ जना आइसियुमा र २ सय ८५ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






