झगेन्द्र खड्का
गौरादह, २० वैशाख । कोरोना भाइरसको जोखिम बढेपछि सरकारी तवरबाट गरिने लकडाउनको बिकल्प खोजिनु पर्ने व्यापारीहरु बताउँछन्। व्यापार व्यावसाय बन्द गर्दा कारोना भन्दापनि भोकमारीले मर्ने सम्भावना बढोको उनीहरुको भनाइ छ।
कोरोना भाइरसको जोखिम घटाउन भिडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरि व्यावसाय गर्न पाउनु पर्ने व्यापारीहरुको माग छ। लकडाउन गरि व्यवसाय ठप्प पार्दा खुद्रा व्यापारीहरु मारमा परेको उनिहरु बताउँछन्।
हाट बजारमा तरकारी तथा फलफूल बिक्री गरेर परिवार पाल्ने व्यापारीहरुका छोराछोरीहरु खान नपाउने र भोकभोकै हुने उनीहरुको भनाइ छ।सिमानाका बन्द गरि एकपालिका भित्रमात्र आवतजावत गर्ने हो भने भिडभाड नहुने र भाइरसको महामारीबाट बच्न सकिने उनीहरु बताउँछन्।
कोरोना भाइरस नियन्त्रणका लागि बजार बन्द नै बिकल्प नभएको गौरादह नगरपालिका वडा नं ७ ग्वालडुब्बा बजार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारी बताउँछन्।बजार बन्द गरिन्छ तर यातायातका सवारीसाधन चलिरहँदा एकठाँउको मानिस अर्को ठाउँमा जाँदा भाइरसको महामारी बढ्छ।भारतीय सिमानाका बन्द गरि बाह्य ठाउँका मानिसहरुलाई आवतजावतमा रोक लगाउदा भाइरस नियन्त्रणको सम्भावना रहेको बताउँछन्।
लकडाउन गरेर तरकारी तथा अन्य सामान खरिदबिक्रीका लागि निस्चित समय निर्धारण गर्दा बजार तथा पसलमा भिडभाड हुने भएकाले समय तोक्नु भन्दा खुल्ला गर्नु नै राम्रो हुने बताउँछन्।भाइरसका कारण बजार तथा व्यवसाय बन्द गर्दा बजारमा बसेर तरकारी तथा फलफूल व्यापार गर्ने साना व्यापारी मारमा पर्ने ग्वालडुब्बा बजारका तरकारी व्यापारी सुनिल दाहाल बताउँछन्।दिन भरि बजारमा व्यापार गरेर बिहान बेलुका छाक टार्नेहरुका लागि बन्द बाधक बनेको बताए। कोरोना भाइरसबाट जोगिए पनि छाक टार्न नसक्दा भोकै बस्नु पर्ने बाध्यता रहेको बताए। दैनिक उपभोग्य सामग्रीहरु नभई नहुने भएकाले ग्राहकहरु समान खरिद गर्न आउने भएकाले बन्द गर्नु भन्दा बिकल्प खोजेर खुल्ला राख्नु पर्ने उनले बताए।
गतबर्ष भाइरसका कारण मन्दी आएको व्यावसायमा केही सहजता आएकाले पूर्ण बन्द गर्नु भन्दा स्वास्थ्य मापदण्ड पूरा गरि खुल्ला गर्नु उपयुक्त हुने जेनी कस्मेटिक एण्ड सुसेन्टरका प्रो. जीवन कोइराला बताउँछन्।भाइरस संक्रमणको जोखिम बढेकाले बन्द आवश्यकता भएपनि बिकल्प खोज्नु पर्ने उनको भनाइ छ।लकडाउन गरि सबैथोक बन्द गर्ने हो भने सरकारले सेवा सुबिधा दिनुपर्ने बताउँछन्।व्यावसाय संचालन गर्न ऋण लिएर सुरुगरेकाले बन्द गर्दा ब्याज र कोठाभाडा तिर्न समस्या भएको बताए। व्यापारी तथा ग्राहक दुबैलाई समस्या आउन नदिन लकडाउनको बिकल्प खोजिनु पर्ने उनले पनि बताए।
भाइरसको संक्रमण तिब्रगतिमा फैलिरहेकाले महामारीबाट जागिनु र नागरिकलाई जोगाउनु पहिलो आवश्यकता रहेको गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जे.बि.कार्की बताउँछन्।महामारीबाट जोगिन राज्यले अवलम्बन गरेको नीतिलाई आत्मसात गर्नु उपयुक्त हुने उनले बताए।व्यापारीहरुका लागि सामान बिक्री गर्न र ग्राहकलाई चाहिएको सामग्री खरिद गर्न तोकिएको समय सिमाभित्र उपस्थित हुदा अनावश्यक हिनडुल बन्द हुने भएकाले भिडभाड कमहुने अध्यक्ष कार्कीले बताए।भाइरसको महामारीबाट जोगिन नागरिकहरु सचेत हुन आवश्यक रहेको बताउदै सबै मिलेर भाइरसको सामना गर्नु पर्नेमा कार्कीले जोडदिए।






