झापा, ९ वैशाख २०७८ । झापाको बिर्तामोडमा मृत्यु भइसकेका व्यक्तिको नक्कली नागरिकता बनाई मृतकको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । झापाको विर्तामोड नगरपालिका-१ स्थित स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा विक्री गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । सोही कार्यमा संलग्न अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ठगी गर्ने गिरोहमा संलग्न फरार हुनेमा गौरादह-७ का वडाध्यक्ष बलराम खरेल उनले किर्ते कागजात तयार गर्न सरसहयोग गरेको, अधिकृत वारेशनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरुसँगै काठमाण्डौ जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहरुलाई भाग्न भगाउने कार्यमा संलग्न भएको आरोप लागेको छ ।
यस्तै,मालपोत भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालीन नासु हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी –७ का बेग प्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग–११ का देव बहादुर विष्ट र भद्रपुर-७ का ५३ वर्षीय प्रकाश कार्की छन्।
जग्गासम्बन्धी अवैध कारोबार गर्ने सो गिरोहले बिर्तामोड नगरपालिका१ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिम(अतिथी सदन जाने बाटो तर्फको महेन्दै राजमार्गमा जोडिएको) स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफल रहेको जग्गालाई संगठित रुपमा योजना बनाई ठगी गर्ने उद्देश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी मृत्यु भइसकेका टुंग बहादुर बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई २०७७/०६/२८ गते काठमाण्डौं जिल्ला अदालतबाट जिल्ला झापा बाह्रदशी गाउँपालिका वडा नं.३ घर भई हाल बिर्तामोड नगरपालिका-२ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत जिल्ला झापा बिर्तामोड नगरपालिका ४ बस्ने रञ्जु राईको नाममा राजिनामा पास गरेको घट्नाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेको थियो ।
दरखास्त परे पश्चात १ नं. प्रदेश प्रहरी कार्यालय, विराटननगर अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त अनुसन्धान तथा कारवाहीबाट सो घट्नामा संलग्न रहेका १० जना प्रतिवादीहरुलाई फरकफरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरीएको जनाइएको छ ।
झापा प्रहरीका अनुसार सो जग्गा विक्रीसम्बन्धी किर्ते कागजात बनाएर विक्री गर्ने मुख्य नाइके गौरीगञ्ज–१ कुन्जिबारीका बलराम विश्वकर्मा (सुशील) हुन्।
उनीहरुसहित प्रहरीले नापीका पूर्व कर्मचारी एवं नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोबारी बाह्रदशी–५ का ५० वर्षीय लिलाधर राजवंशी, विद्युत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी–८ का भुपदेव कटुवाल, विर्तामोडमा ट्याक्टर सोरूम सञ्चालन गर्ने अर्जुनधारा –५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड–४ का ४३ वर्षीय गोविन्द वान्तावा ९मिलन ०, विर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे र उर्लाबारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा पक्राउ परेका छन्। उक्त गिरोहले जग्गा हडप्न तीन वर्षदेखि प्रयास गरिरहेका थिए।
उनीहरूविरूद्ध ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।






