Online Bichar
आइतबार, आश्विन १८, २०८३ | Sunday, October 4, 2026

काठमाडौं, ८ कात्तिक । नेपालले साफ यू–१५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा समूह ’ए’मा रहेको नेपालले माल्दिभ्सलाई ४–० गोलको फराकिलो अन्तरले हरायो।

खेलभर नै माल्दिभ्सलाई दबावमा राखेको नेपालले २८औँ मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो। माल्दिभ्सका नबुमान मोहम्मदले डिबक्सभित्र नेपालका राकेश विश्वकर्मालाई फल गरेपछि पाएको पेनाल्टीमा जान लिम्बूले गोल गरेका थिए।

३८औँ मिनेटमा नेपालका राकेशको पासमा पेनाल्टी एरियाबाट नमास थापामगरको शानदार भली प्रहार गोलमा परिणत हुँदा नेपालले २–० को अग्रता बनायो। पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोल नै थप्यो। ६३औं मिनेटमा शशांक बोहोराले नेपाललाई तेस्रो अग्रता बनाउँदा ७०औँ मिनेटमा सब्सिच्युड खेलाडी दिपेश राईले गोल गरी नेपाललाई ४–० को जित दिलाए। दिपेश ६३औं मिनेटमा नमास थापामगरको स्थानमा मैदान प्रवेश गरेका थिए।

यसअघि बिहीबारै भएको उद्घाटन खेलमा समूह ’बी’बाट पाकिस्तानले चीरपरिचित प्रतिद्वन्द्वी भारतलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। खेलको ३१औँ मिनेटमा पाकिस्तानले खेलमा अग्रता बनाएको थियो। उसका लागि अन्दान जस्टिनले गोल गरेका थिए।

दोस्रो हाफको सुरुमै भारतले बराबरी गोल फर्काएको थियो। ५३औँ मिनेटमा थालाचुईले गोल गरेका थिए। तर, भारतमाथि लगातार आक्रमण बन्दै आएको पाकिसतानका लागि बासिफले ८५औँ मिनेटमा निर्णायक गोल गर्दा साविक विजेता भारत २–१ ले पराजित हुन पुग्यो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments