Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सरकारको समिक्षा गर्न कम्तिमा ३ वर्ष कुर्नुपर्छ ।

काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ तर प्रधानमन्त्री परिवर्तन हुँदैन् भन्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने,‘सरकारको काममा प्रभावकारिता भएन् । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं । अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’ यद्धपी उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे । पौडेलले भने,‘अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पूनर्गठन हुन्छ । तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन् । आवश्यक पर्यो भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’

आयोजित साक्षात्कारमा बोल्दै उनले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे । उनले भने,‘सुशासन कायम गर्न त सकिन्छ नि, केले रोकेको छ ? मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासनलगायतका कामहरु कायम गरेर देखाउन सकिन्छ ।’ उनले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भैनसकेको पनि जिकिर गरे । उनले भने,‘अहिले नै वर्तमान सरकारको बारेमा पास वा फेल भनेर टिक लगाउने र ईन्टु लगाउने बेला भएको छैन् ।

सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन् । तर, अहिले सरकारका बारेमा भैरहेका आलोचनाहरु मननयोग्य छन् । हामी अब समिक्षा गर्छौं । यसको मतलव यो होईन की, हिजो चकाचक थियो, यो सरकार आएपछि सबै बर्वाद भयो भन्ने अवस्था अहिले छैन् । कामहरु अब विस्तारै अघि बढ्छन् ।’

वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने कुरामा पूर्ण प्रतिबद्ध रहेको पनि उनले सुनाए । उनले भने,‘हामी संविधान कार्यान्वयन गराउन पूर्ण प्रतिबद्ध छौं । हामी दृढतापूर्वक संविधानको पक्षमा छौं ।’ सरकारको प्रभावकारिताबारे उठेका प्रश्नहरुबारे पार्टीले गम्भिर समिक्षा गर्ने बताउँदै उनले रेल, पानीजहाज, ठूला ठूला बाटाघाटाहरु भन्ने कुरा तत्कालै बन्न नसक्ने बताए । पौडेलले भने,‘हामीले चमत्कार नै गर्छौं भनेका छैनौं ।

काठमाडौं हुँदै लुम्बिनीसम्म रेल पुर्याउँछौं, र बिरगञ्जहुँदै काठमाडौंसम्मपनि रेल ल्याउँछौं भनेका छौं । यो कार्यान्वयन गर्न केही समय लाग्छ । ’पछिल्लो समय जनताका गुनासाहरु एकपछि अर्को बढ्दै गैरहेकोले सरकार र पार्टी दुवै यस विषयमा अलिक बढि नै गम्भिर बन्नुपर्ने र त्यही अनुसारको समिक्षा गर्नुपर्ने उनको धारणा छ ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण दुःखद्, निन्दनीय र अमानवीय रहेको सुनाउँदै उनले यस विषयमा सरकारले अपराधी पत्ता लगाउन अनुशन्धानको काम गरिरहेको बताए । यद्धपी यो प्रकरणमा सरकार र मन्त्रीहरुको कामबारे जोडेर विरोध नगर्न विपक्षी दलका नेताहरुलाई आग्रह समेत गरे । उनले भने,‘सामाजिक अपराधका घट्नाबारे सबै एकजुट भएर लाग्नुपर्छ । को प्रतिपक्षी ? को सत्तापक्षी भन्नुहुँदैन् । यदि सरकारले विकास निर्माणका काममा गलत गरेको छ भने आलोचना गर्न सकिन्छ । तर, यो घट्नामा सबै मिलेर अपराधी पत्ता लगाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया