Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

पर्षा २६,फागुन २०७७ ।  सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलको पहिलो लट वीरगन्ज आइपुगेको छ । करिब २ हजार ५ सय टन युरिया मल बोकेको एउटा रेलवे र्‍याक मंगलबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय वीरगन्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।

हाल बंगलादेशले दिएको ५० हजार टन युरियामध्ये २२ हजार ५ सय टनको पहिलो लट भारतको कोलकाता बन्दरगाहमा आएको हो । त्यसमध्ये ५ हजार ६ सय २५ टन कोलकाताबाट सोझै ट्रकमा विराटनगर लगिँदै छ । बाँकीमध्ये नौ हजार टन युरिया वीरगन्जको सीमापारि भारतीय सहर रक्सौल रेलवे स्टेसनमा आउँदै छ । त्यहाँबाट ट्रकमा ढुवानी गरी मल वीरगन्जसम्म ल्याइनेछ ।

सिर्सिया सुक्खा बन्दरगाहमा रेलबाट ७ हजार ८ सय ७५ टन युरिया ल्याइनेछ । रक्सौल र वीरगन्जमा आउने युरिया मल डेढदेखि दुई सातासम्म आइसक्ने केसीको अनुमान छ । एक रेलवे र्‍याकले सरदर २ हजार ५ सय टन मल बोक्न सक्छ । बंगलादेशले दिने बाँकी २७ हजार ५ सय टन युरिया मल कहिले आउँछ भन्नेबारे आफूलाई यकिन जानकारी नरहेको केसीले बताए । ‘हाललाई दुवै देशका सरकारले जीटूजी माध्यमबाट मल खरिदबिक्री गरेका हुन्, उनले भने, ‘बाँकी मल कहिले आउँछ, त्यसबारे हामी अनभिज्ञ छौं ।

यसअघि पनि ३०र३० हजार टन युरिया र डीएपी मल कम्पनीले आयात गरेकाले अब कम्पनीसँग दुवै मलको मौज्दात पर्याप्त हुन जाने केसी बताउँछन् । ‘गहुँ बालीका लागि अब मल चाहिएन, आउँदो धान बालीका लागि युरिया र डीएपी दुवैको पर्याप्त मौज्दात हुनेछ,’ उनले भने, ‘यसबाहेक कम्पनीले थप ६० हजार टन डीएपी मल पनि भित्र्याउँदै छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments