Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज आइतबार बस्दै छ। गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछि सारिएको थियो।

बैठकमा प्रदेशका नेतृत्व सिफारिस, सरकारका कामकारबाहीलगायतका विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालको गुनासोले प्रवेश पाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा नेपालको विषयले प्रवेश पाउने एक नेताले बताए।

बैठकमा पार्टीको तल्ला कमिटी एकीकरणअन्तर्गत जिल्लाको एकीकरणका सन्दर्भमा प्रदेश नेतृत्वले गरेको गृहकार्यका विषयमा छलफल हुनेछ। यसैगरी बैठकले आगामी १२ र १३ गते बस्ने स्थायी समितिको बैठकका लैजाने एजेण्डाका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।

बैठकमा सरकारको मूल्यांकनसम्बन्धी एजेण्डाले प्रवेश पाउने बताइएको छ। त्यसपछि केही मन्त्रीहरू हुनसक्ने बताइएको छ। प्रधानमन्त्री ओलीले दशैंलगत्तै केही मन्त्री फेरबदल गर्नसक्ने संकेत गरेका थिए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेश गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए। कार्यकालको ६ महिनासम्म आइपुग्दा प्रधानमन्त्री ओलीले प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरु फेर्ने संकेत गरेका थिए। नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि भारत भ्रमणको पूर्वसन्ध्यामा ’टिम’ परिवर्तन गरेर भए पनि सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताएका थिए।

पछिल्लो पटक असोज २४ गते बस्ने भनिएको सचिवालय बैठक असोज २७ गते सारिएको थियो। तर दशैँ नजिकिएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलबाट दशैँ पछाडि बैठक बस्ने सहमति गरेका थिए।

तपाईको प्रतिक्रिया