शान्ति सुब्बा
गौरादह, १६ फागुन २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको एउटा नयाँ लहर सिर्जना गर्दै आफु अगाडी बढिरहेको बताउनुभएको छ । आफुलाई जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर आफुले नेपाललाई राष्ट्रिय स्तरमा विकासको गतिलाई अगाडि बढाउने, अन्तराष्ट्रिय क्षेत्रमा हाम्रा दृष्टिकोणहरु, सम्बन्धहरु, विश्वसनियता, अन्तराष्ट्रिय क्षेत्रमा देखिने सुनिने स्थिती तर्फ गएको बताउनुभयो । आईतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन–नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुँदै ओलीले उक्त कुरा बताउनुभयो ।
नेपाल र चीन बिचको मित्रताको एउटा नयाँ प्रतिकको रुपमा चीन–नेपालमैत्री औद्योगिक पार्क रहेको बताउनुहँदै ६३ अर्ब लगानीमा पार्क निर्माण गर्ने लक्ष्य राखिएको बताउनुभयो । झापाको गौरादह, दमक र कमलमा स्थापना गर्न लागिएको यस पार्कले २ वर्ष भित्र उल्लेख्य गति लिने बताउँदै करिब ४५ हजार मानिसहरुले रोजगारीको अवसर प्राप्त गर्ने बताउनुभयो ।
यस्तै, ५ वर्ष भित्र सम्पूर्ण पूर्वाधारहरु निर्माण हुनुका साथै १० वर्षभित्र यसले लाखौंलाई प्रत्यक्ष र १० औं लाखलाई अप्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराउने बताउनुभयो । औद्योगिक पार्कको खास विशेषता रहेको बताउँदै २१ सय बिगाहा जमिनमा आधुनिक उद्योगहरु स्थापना हुने बताउनुभयो । शालिक बनाउने कुरालाई प्राथमिकता दिनुभन्दा पनि उद्योग स्थापना छिटो गरेर रोजगारी अवसरको सिर्जना गर्न तर्फ लाग्न अनुरोध गर्नुभएको छ ।
हामी आत्मनिर्भर हुने मात्र होइन निर्यातक देशको रुपमा, अरुले तयार गरेका सामान नेपाल ल्याउने उपभोग गर्ने क्रेताको रुपमा मात्र होइन उपभोक्ताको रुपमा मात्र नभई, उत्पादक, बिक्रेता निर्यातकको रुपमा आफूहरुलाई विकास गर्नका लागि हतार गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आज नै कमलको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने बाटोको कमल खोलाको पुलको उद्घाटन गर्नुभएको छ । यस्तै, दमक नगरपालिका–१० बाट मोरङको आमबारी जोड्ने मावा–बेतनी खोलाको पुलको उद्घाटन गर्नुभएको छ । दमक–१० को सेतुमारीबाट गौरादह नगरपालिका जोड्ने रतुवा नदीमा निर्माण भएको पुलको उद्घाटन गर्नुभएको छ भने, दमक नगरपालिका–१ बाट इलामको चुलाचुली जोड्ने रतुवा नदीमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्नुभएको छ । त्यस्तै मदन भण्डारी मार्गको धरान–बाहुनडाँगी सडकखण्डमा पर्ने ३१ वटा खोलामा पर्ने पुलहरूको एकै स्थानबाट सामूहिक शिलान्यास गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले सरकार र स्थानीय निकायहरु अरु विभिन्न संघ संस्थाहरु मिलेर सडक मानव कोही पनि अलपत्र हुन नपाउने, सडक बालबालिका कोहि पनि हुन नपाउने अबका दिनमा खाते उपनामले कुनैपनि बालबालिकाले अपमानित हुनुनपर्ने साथै तिनिहरुको अभिभावक सरकार रहेको बताउनुभयो ।
ज्येष्ठ नागरिकहरुका लागि ३ हजार भन्दा माथी रकम बढाइने बताउनुभयो । यस्तै, अपांगता भएका व्यक्तिहरु, बहिरोपन, अन्धोपन, अशक्तहरुका लागि सरकारले सम्मानका साथ बाँच्न, खान, लाउन पाउने प्रबन्ध गर्ने घोषणा गरेको र त्यसलाई कार्यान्वयनमा पनि ल्याइएको बताउनुभयो ।
यस्तै, फरक प्रसंगमा केही मानिसहरु विकासको लहर देखेर जलेको, देशमा समृद्धि आएको देखेर जलेको, समृद्ध नेपाल सुखी नेपाली सुन्दा नै केही व्यक्तिहरुको मनमा छटपटी छुटेको बताउनुभयो । सुखी नेपाल र समृद्ध नेपालको आकांक्षा मात्र होइन यस कुरालाई पुरा गर्न निति तथा कार्यक्रम बनाएको बताउनुभयो ।त्यसअनुसार योजना बनाएको लक्ष्यहरु निर्धारण गरेर अगाडी बढिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु पुरा गर्ने प्रतिबद्धता लाई पुरा गर्न संकल्प लिएको बताउँदै समय भन्दा अगावै कामहरु गर्ने बताउनुभयो । यस्तै, पहिलो पल्ट आफुलाई प्रधानमन्त्री पदबाट हटाउँदै गर्दा, समयको अन्त्य भएको छैन , यो एउटा प्रक्रिया हो र यो प्रक्रिया चालु छ यस प्रक्रियामा हामी पनि यहिँ छौं, ओलीले लड्डु खानेहरुलाई हामी यहीँ छौं भन्ने कुरा नबिर्स भन्नुभयो । अदालतले फैसला गर्यो यसअघि पनि गल्ति नगरि मुद्दा हार्दै गरेको बताउँदै मुद्दा जिताएर आफूलाई कसैले प्रधानमन्त्री बनाइदिएको होइन ३ करोड जनताले प्रधानमन्त्री बनाइदिएको बताउनुभयो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष नन्द किशोर बस्नेतले चीन–नेपाल मैत्री औद्योगीक पार्कको सम्बन्धमा प्रकाश पार्नुभएको थियो । यस्तै चीन–नेपाल मैत्री औद्यागीक पार्कको अध्यक्ष गोविन्द थापाले पार्कको अवसर, व्यवस्थापन र चुनौति का बारेमा स्पष्ट पार्नुभएको थियो ।






