बीबीसी, २२ असोज । अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ । लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् ।

दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघि बढ्यो । यद्यपी, अहिलेसम्म दुर्घटनाको सही कारण पत्ता लाग्न सकेको छैन ।

मृतकको नाम सार्वजनिक गरिएको छैन तर न्यूयोर्क टाइम्सको खबर अनुसार दुर्घटनामा चार दिदी बहिनी र कम्तीमा दुई नवविवाहित जोडीको मृत्यु भएको छ ।

यसअघि सार्वजनिक भएको खबर अनुसार उक्त कार मानिसहरुलाई लिएर एक विवाह समारोहमा गइरहेको थियो तर पछि सार्वजनिक भएको खबर अनुसार उनीहरु कसैको जन्मदिन पार्टीमा उपस्थित हुन गइरहेका थिए । दुर्घटनामा लिमोजिनका ड्राइभरको पनि मृत्यु भएको छ ।

बिल वाटर्सन पनि त्यही समारोहमा जाँदै थिए । उनले दुर्घटनालाई प्रत्यक्ष देखे । एक पत्रिकासँगको कुराकानीमा उनले भने, ‘मलाई विश्वास नै छैन कि यस्तो दुर्घटना पनि हुनसक्छ । यो अत्यधिक भयानक थियो ।’

घटनास्थलमा भएका एक स्थानीय रिपोर्टरले केही तस्बिर र भिडियो ट्वीट गरेका छन् । तस्बिरमा देखिए अनुसार दुर्घटनास्थल नजिकै एउटा स्टोर र क्याफे थियो । दुर्घटनास्थलमा पुलिसका विभिन्न गाडी र एम्बुलेन्स पनि देखियो । यद्यपी, यी गाडीका कारण सडकमा लामो जाम थियो । ट्वीटरमा सेयर गरिएको एक अन्य तस्बिरमा एउटा ठूलो गाडी रुखमा ठोक्किएको देख्न सकिन्छ ।

प्रत्यक्षदर्शीको बयानः

प्रत्यक्षदर्शीका अनुसार जब गाडी स्टोर नजिकै पुग्यो तब धेरै मानिसहरु स्टोरबाट निस्किरहेका थिए । दुर्घटनामा ती मानिसहरुलाई पनि चोट लागेको छ ।

घटनास्थल नजिकै बस्ने ब्रिडेले भने, ‘मैले एउटा ठूलो आवाज सुनें । त्यतिबेला स्टोर र क्याफेको पार्किङमा थुप्रै मानिसहरु उभिएका थिए । त्यसपछि अचानक मानिसहरुको चिच्याहट सुनिन थाल्यो ।’

न्यूयोर्कको पुलिस अनुसार अनुसन्धान अहिल पनि सुरुवाती चरणमा नै छ । अनुसन्धानमा एक आइडेन्टिफिकेशन र ड्रोन टिम समेत विभिन्न अतिरिक्त पुलिस युटिट्स पनि लगाइएको । नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड पनि घटनास्थलमा एउटा समूह पठाउने तयारीमा छ । बोर्डले ट्वीट गरेर यसबारे जानकारी दिए ।

बोर्डका चेयरम्यान रोबर्ट समवाल्टले एक प्रेसवार्तामा भने, ‘यो एउटा ठूलो दुर्घटना हो जसमा हामीले विभिन्न जीवन गुमाएका छौं । सन् २००९ पछिको यो अहिलेसम्मको सबैभन्दा भयानक सडक दुर्घटना हो ।’

प्रशासनका अनुसार घटनास्थलमा अर्को पाँच दिनसम्म अनुसन्धान जारी रहनसक्छ । पुलिसका अनुसार मृतकको परिवारका लागि एक फोन लाइन सुरु गरिएको छ ।

यो दुर्घटना एक पहाडी इलाकामा भएको बताइन्छ । स्थानीय प्रशासनका अनुसार हालै यो रुटमा ठूला ट्रकलाई प्रवेश निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया

Comments