Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ८ माघ २०७७ । भारतले नेपाललाई अनुदानमा दिएकोे कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाको ‘कोभिसिल्ड’ खोप एयर इण्डियाको जहाजबाट नेपाल आएको हो । यो खोप बेलायतस्थित अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच भारतिय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नुभयो । भारतिय राजदुत क्वात्राले भारतले जहिले पनि नेपाललाई प्राथमिकतामा राखेको बताउनुभयो । खोप अभियानबाट दुई देशले नै कोरोना भाइरसलाई अन्त्य गर्न सकिने उहाँको विश्वास छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतिय राजदुत क्वात्राको सहयोग र पहलका कारण नै नेपालमा छिटो खोप आएको भन्दै नेपाल र भारतको सम्बन्ध कुनै राजा महाराजा र मन्त्रीले बनाएको नभइ जनताले बनाएको सम्बन्ध भएको उल्लेख गर्नुभयो । नेपाललाई अझै ४० लाख डोज खोपको आवश्यकता पर्ने र अब भने नेपाल खोप खरिदको प्रक्रियामा जानेसमेत स्वास्थ्य मन्त्री त्रिपाठीले बताउनुभयो ।

नेपाल आएको खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएकोे छ । यसलाई स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ । तोकिएका खोप केन्द्रहरूबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ देखि १० दिन भित्र खोप लगाउन सुरु गरिने छ । नेपाल आएका कोभिसिल्ड खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने किसिमको हो । सुरुवाती चरणमा यो खोप ५ लाख जनसंख्यालाई लगाउने तयारी गरिएको छ । पहिलो डोज लगाएको चार हप्ता पछि मात्र दोस्रो डोज खोप लगाइनेछ ।ईमेजखबरबाट

तपाईको प्रतिक्रिया